म्याग्दीका ग्रामीण क्षेत्रमा अत्यावश्यक औषधिको अभाव भएको स्थानीयले जनाएका छन् । पछिल्लो दुई सातादेखि उत्तरी म्याग्दीका स्वास्थ्य चौकीहरूमा अत्यावश्यक सिटामोल तथा जीवनजललगायतका औषधिको समेत अभाव देखिएपछि यहाँका सेवाग्राही आक्रोशित भएका छन् ।
अन्नपुर्ण गाउँपालिका भित्र पर्ने सबै स्वास्थ्य चौकीहरूमा सरकारले निःशुल्क वितरण गर्ने औषधि समेत सकिएको र समयमै खरिद गरेर नल्याउँदा सास्ती भएको जनगुनासो रहेको छ ।
गाउँमा निजी क्लिनिकसमेत नभएकाले सामान्य औषधिका लागि समेत सदरमुकाम बेनीमा पुगेर खरिद गर्नुपर्ने शिखवासी गुनासो गर्छन् ।
शिख गाउँपालिका-५ का अध्यक्ष दिनेश तिलिजाले आफूले पनि समस्याको बारेमा पछिमात्र थाहा पाएको भन्दै औषधि चाँडै स्वास्थ संस्थामा पुर्याउनका लागि सक्दो पहल गरिरहेको बताए ।
स्थानीय टेकबहादुर पुर्जाले पखाला लागेर जीवनजल लिन स्वास्थ्य चौकी जाँदा पानी उमालेर खानु भन्दै स्वास्थ्य चौकी इञ्चार्ज हेम पुनले फिर्ता पठाएको बताए ।
औषधि अभावका बारेमा वडा अध्यक्षहरूले गाउँपालिकामा जानकारी नगराएका कारण समस्या भएको पुर्जाको भनाई छ ।
शिख स्वास्थ्य चौकीमा जीवनजल लगायतका अत्यावश्यक औषधि नभएर सर्वसाधारणलाई समस्या भएको छ ।
अन्नपुर्ण गाउँपालिका भित्रका सबैजसो स्वास्थ्य चौकीहरूमा सिटामोललगायतका अत्यावश्यक औषधि अभाव भएको जानकारी आफूले पाएको र औषधि गाउँपालिकासम्म झिकाई सकिएको र अब एक दुई दिन भित्रै सम्बन्धित स्थान सम्म पुर्याइने अन्नपुर्ण गाउँपालिकाकी उपाध्यक्ष केशमाया मगरले बताइन् ।
उनले भनिन्-‘औषधि अभाव भएको कुरा सुन्नमा आयो त्यस पछि हामीले औषधि झिकाएका छौँ र अब सम्बन्धित स्थानमा पठाउँछौँ ।’
शिखमा जेठ १६ गते गाउँपालिकाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्वास्थ्य चौकीकै कर्मचारीले जीवनजल अभाव भएको भनी गुनासो राखेका थिए ।
स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भिमप्रसाद आचार्यले स्थानीय तहले माग गरेको औषधिको व्यवस्था गरिएको र अभाव भएको भन्ने जानकारी आफूलाई नभएको बताए ।