समाजमा रहेको जातीय विभेद र छुवाछुतलाई अन्त्य नगरेसम्म समाज परिवर्तन हुन नसक्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले सुद्धोधन गाउँपालिकामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो कुरा बताएका हुन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले मानव अधिकारको दृष्टिकोणमा सबै समान रहेको बताउँदै, छुवाछुतको सवाल आर्थिक समृद्धिसँग पनि जोडिएको विषय भएकाले समाजमा आर्थिक समृद्धि हुनासाथ जातीय विभेद तथा छुवाछुत हट्दै जाने बताए ।
परिवर्तन विस्तारै हुन्छ भन्दै अपराध गर्ने छुट कसैलाई नभएको भन्दै वस्तीले भने–‘संविधान, कानुन र विधि प्रकृयाभन्दा माथि कोही छैनन् । हुँदैनन् पनि । त्यसैले सबै सक्रिय रूपमा लाग्न सके समाजमा मानव अधिकारको संस्कृतिको विकास हुन्छ । विभेद कम हुन्छ । ’
शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द्र चौधरीले शुद्धोधनमा दलित र गैरदलितका बिच कित्ताकाट बढ्दै गएकाले त्यसलाई रोक्न आफूहरूले पहल गरिरहेको बताए ।
उनले भेदभाव कसैले पनि गर्न नहुने भन्दै सकरात्मक दृष्टिकोणले मुद्दा उठाउन समेत आग्रह गरे । अध्यक्ष चौधरीले कुनै पनि धर्मले कँहि कतै विभेद गर्नुपर्छ नभनेकोले धर्मप्रतिको विश्वास राख्नेले विभेद गर्न नहुने बताए ।
गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले आफू न्यायिक समितिको संयोजक भएकाले भेदभावका घटना हुन नदिने र त्यस्ता उजुरी आए कारवाही गर्ने बताइन् ।
इलाका प्रहरी कार्यालय छपियाका इन्चार्ज शैलेश्वरी बोहोराले जातीय भेदभावका घटनमा राजनीति हुँदा न्याय दिन अप्ठ्यारो भएको बताए ।
कार्यक्रममा दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका पूर्व उपाध्यक्ष पदम विश्वकर्माले कम्युनिष्ट नेतृत्वको सरकार स्थानीयदेखि केन्द्रसम्म हुँदा पनि जातीय भेदभावका घटना भइरहनु विडम्बना रहेको बताए ।





