सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीलाई सोही गाउँपालिका–१ दोजामका वडा अध्यक्ष ताराबहादुर लामाले धम्की दिएको पीडितले आरोप लगाएका छन् ।
घटनाक्रम अनुसार सिमकोट गाउँपालिकामा एक जना अनमीको कोटा पुर्तिका लागि वैशाख २७ गते सूचना निकाले अनुसार जेठ १५ गते तीन जना परिक्षार्थीहरूले परीक्षा दिएका थिए ।
नतिजा सोही दिन प्रकाशन गरेकाले वडा अध्यक्षद्वारा गाउँपालिकाको कार्यविधि विपरीत भएको भन्दै र आफ्नो पक्षको व्यक्तिलाई पास गरी नाम निकालेको आरोपमा कार्यकारी अधिकृत दर्जीलाई ‘तँ डुम जातीको मान्छे होस् तेरो जागीर फाल्दिन्छु’ भन्दै धम्की दिएको अधिकृत दर्जीले आरोप लगाए ।
‘अध्यक्ष लामाले आफ्नी बुहारीको नाम निकाल्न खोजेका थिए, तर उनकी बुहारीको नाम ननिक्लँदा आफूमाथि खनिएको हो ।’–दर्जीले भने ।
आफूलाई धम्की समेत आएको भन्दै जीवन सुरक्षाको माग गर्दै अधिकृत दर्जीले जेठ १७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको भएता पनि प्रशासनले उजुरी नै नसमातेको दर्जीले आरोप लगाए ।
यसैका बारेमा जिल्ला प्रशासन कार्यालयमा बुझ्दा प्रमुख जिल्ला अधिकारी धोलकप्रसाद ढकालले भने–‘यो घटना सामान्य हो । दुवै पक्षको एक अर्कामा गलत भएको देखिएन ।’
उजुरी पश्चात दुवै पक्षलाई मौखिक मिलापत्र गराइएको प्रजिअ ढकालले भनेता पनि अधिकृत दर्जीले मिलापत्र नभएको र आफूले न्याए नपाएको बताए ।