अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कार्यक्रमहरूको समीक्षा तथा आगामी वर्षमा गरिने कार्यक्रमहरुको योजना बैठक जेठ १६ गतेदेखि पोखरामा सुरू भएको छ ।

समीक्षा बैठकको उद्घाटन कार्यक्रममा बोल्दै इन्सेककी अध्यक्ष डा.इन्दिरा श्रेष्ठले इन्सेकले तीन वर्षसम्म सञ्चालन गरेको कार्यक्रमको समीक्षा गर्दै आगामी योजनाका बारेमासमेत छलफल गरिने बताइन् । उनले पछिल्लो तीन वर्षे कार्यक्रमका क्रममा आइपरेका चुनौती र सुधार गर्नुपर्ने विषयमा स्पष्ट रूपमा छलफल गर्ने बताइन् ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले तीन वर्षको कार्यक्रमहरू सकिने क्रममा रहेको सन्दर्भमा कार्यक्रमहरूको समीक्षा तथा आगामी कार्यदिशाका बारेमा छलफल गर्ने उद्देश्यसहित बैठक आयोजना गरिएको बताए ।
इन्सेक केन्द्रीय कार्यालयका श्रीराम बजगाईँले कार्यक्रम अवधिका राम्रा कामहरूलाई निरन्तरता दिँदै सुधार गर्नुपर्ने कामलाई परिर्माजनसहित अगाडि बढ्ने अपेक्षा अनुसार समीक्षा बैठक आयोजना गरिएको भनाइ राखे ।
केन्द्रीय कार्यालयका मदन पौडेल, सम्झा श्रेष्ठ र सुबेच्छा खड्काले बैठकका विभिन्न सत्रको सहजीकरण गर्ने बजगाईँले जानकारी दिए ।
जेठ १६ र १७ गते सञ्चालन हुने बैठकमा इन्सेक प्रदेश कार्यालयका संयोजकहरू, कार्यक्रम संयोजकहरू र प्रलेख अधिकृत लगायतको सहभागिता रहेको छ ।