सुन्दा अचम्म लाग्न सक्छ अहिलेको जमानामा पनि कुष्ठ रोगी भएकै कारण गाउँभन्दा टाढा जंगलमा बस्नु परेको खबर । तर, पाल्पा जिल्ला निस्दी गाउँपालिका ४ मित्याल घुङ्सीबारका ८० वर्षीय जसवीर सोती कुष्ठ रोग लागेकै कारण ३५ वर्ष अघिदेखि अहिलेसम्म पनि जङ्गलमै बस्दै आएका छन् ।
१९९६ सालमा जन्मिएका सोतीलाई कुष्ठरोग लागेपछि यहाँका गाउँलेहरुले २०४० सालमा गाउँ निकाला गरेका थिए । गाउँभन्दा करिब ७ सय मिटर तल बाँस घारीको भिरालो जग्गामा बनाइएको साँघुरो छाप्रोमा सोतीले दिनरात कटाउदै आएका छन् ।
‘त्यतिबेला म ४४ वर्षको थिएँ । कुष्ठरोग लागेपछि मलाई गाउँमा सबैले हेला गर्न थाले । मेरो नजीक कोहि परेनन । सँगै खाना बस्न कोही पनि मनेनन् अन्तमा मलाई यहाँ ल्याएर राखे ।’-उनले गहँभरि आशु पादै भने ।
‘यो बुढेसकालमा अब घर जान्न कति दिननै बाँचुला र यहीँ बानी परिसक्यो । घरका सबैले लिन आउछन तर गाउँलेहरुले दुख मान्ने डरले नगएको उनले बताए । हावाहुरी चल्दा र पानी परेको बेला छाप्रो चुहिएर सुत्न पनि पाइन्न ।’-सोतीले भने ।
‘कहिलेकाही राती जङ्गली जनावर हिँडडुल गर्दा कराउँदा साह्रै डर लाग्छ । सोतीले विवाह नगरेको तर आफ्नो भाइको छोरा बुहारी नातीनातिनाले धेरै माया गर्ने गरेको बताए । पहिला पहिला गाउँमा जाँदा लुकेर जाने गरेको तर अहिले त्यस्तो छैन विवाह भोजभतेर चाडपर्वमा जान्छु तर राति सुत्न भने यही आउँछु ।’-उनले भने-‘४० सालदेखि सधैँ यही छाप्रोमा सुत्दै आएको छु । कुष्ठरोगका कारण उनका दुबै हातका नङहरु झरेका छन् ।’
सोतीलाई उपचार गर्न, घर जान र सँगै खाना बस्न धेरै सम्झाए मान्नु हुन्न उनका आफन्ती डिल बहादुर सोतीले भने । सोती दिनमा खेतबारी , घाँस दौरा गर्ने र गाई चराउन जाने तर खाना र सुत्नको लागि भने त्यहीँ छाप्रोमै जाने गरेका छन् ।