INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको दिन दुईओटा ट्रकमा आगजनी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जेठ १३ गते आह्वान गरेको नेपाल बन्दको दिन अपरिचित पक्षबाट थाहा नगरपालिका-१ कुन्छाल र हेटौँडा उपमहानगरपालिका-१ चौकीटोलमा गरी दुई ओटा ट्रकमा आगजनी गरिएको छ ।

त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका-१ कुन्छाल नजिकै हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ८००७ नम्बरको खाली आईचर ट्रकमा जेठ १३ गते बिहान ४ बजे आगजनी गरिएको हो ।

हेटौँडाको चौकीटोलमा प्रहरी चौकी नजिकै ना ७ ख ९४९३ नम्बरको रोकिराखेको मिनी ट्रकमा समेत बिहान करिब २ बजे आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी यज्ञप्रसाद भटराईले जानकारी दिए । आगजनीबाट दुवै ट्रकमा क्षति पुगेको भट्टराईले बताए ।

यसैगरी १३ गते बिहान १ बजेको समयमा हेटौँडाको बुद्धचोक नजिक प्रेसरकुकर बम समेत भेटिएको र उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ५ बजे डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिका-९ पशुपतिनगरमा खतरा लेखेर छाडेको अवस्थामा नक्कली बम भेटिएको प्रहरीले जनाएको छ ।

सो पार्टीले आह्वान गरेको नेपल बन्दको कारण हेटौँडामा जनजीवन प्रभावित बनेको छ । हेटौँडा बजार भएर चल्ने अधिकांश सवारीसाधन चलेका छैनन् भने उद्योग तथा शैक्षिक संस्थाहरूसमेत बन्द रहेका छन् ।

अन्य

भिडियो