INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई होटलमा रोजगार दिने प्रलोभन देखाएर यौन कार्यमा लगाएको आरोपमा प्रहरीले बाग्लुङ जिल्ला निसिखोला गाउँपालिका–७ स्थायी घरभई बुटवल उपमनपा–११ कालिकानगरमा राप्ती मेनु होटलका सञ्चालक २९ वर्षीय अनिल भन्ने टेकबहादुर कुँवर र ३३ वर्षीया पत्नी मीनाकुमारी बस्नेत कुँवरलाई जेठ ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले होटलमा सरसफाईको काम दिने भनी यौन कार्यका लागि विभिन्न होटल तथा घरहरूमा पु¥याएको र बालिका पीडा सहन नसकी भागेर घरमा गई आमालाई सबै कुरा बताएपछि घटना बाहिर आएको थियो ।

आरोपितले होटलमा ‘यौन धन्दा’ चलाएको प्रहरीको आरोप छ । पीडित बालिकाको भनाई उद्घृत गर्दै इलाका प्रहरी कार्यालयका डिएसपी डिलबहादुर मल्लले भने कलिला बालिकाहरूलाई जागिरको प्रलोभन देखाएर होटलमा जम्मा गरेर यौन व्यवाय नै चलाएको बताए ।

आरोपितले यौन कार्यमा लगाएको एक रातको ३ हजार ५ सयदेखि ५ हजारसम्म रकम लिने गरेको प्रहरीले जनाएको छ ।

गिरफ्तार गरिएका आरोपितविरूद्ध मानव बेचबिखन तथा साङ्गठानिक अपराधमा कारवाही गरिने डिएसपी मल्लले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो