१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालक र भिमसेन थापा गाउँपालिका–३, नुवाकोट स्थायी घर भएका १९ वर्षीय विशाल खड्कालाई जेठ ७ गते टोखा नगरपालिका ९ गोङ्गबुमा रहेको सुर्योदय गेष्ट हाउसबाट महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितहरूले वैशाख ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितहरू विरूद्ध वैशाख ३० गते महानगरीय प्रहरी वृत्त दरवारमार्गमा उजुरी दिएको थियो ।
उक्त उजुरीको आधारमा प्रहरीले आरोपितहरूलाई जेठ ७ गते गिरफ्तार गरिएको महानगरीय प्रहरी वृत्त दरवारमार्गका डिएसपी फडिन्द्र प्रसाईंले बताए ।
गिरफ्तार गरिएका आरोपितहरूलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लैजाने क्रममा फरार भएका बालकलाई भने प्रहरीले जेठ ८ गते पुनः तार्केश्वर नगरपालिका १० हिलेटोलबाट गिरफ्तार गरेको प्रहरीले जनायो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रसूति गृह थापाथलीमा जेठ ७ गते गरिएको प्रहरीले जनायो ।