INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सी भन्दै कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

तिलाठी कोइलाडी गाउँपालिका–८ की ४५ वर्षीय झालो देवी खङ्गलाई काका ससुरा नाताका ६४ वर्षीय लक्ष्मी खङ्ग, उनका ४८ वर्षीय छोरा बलराम खङ्ग र बलरामकी ४५ वर्षीया पत्नी सुवधीदेवी खङ्गले कथित वोक्सीको आरोपमा दुर्व्यवहार गर्दै कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा जेठ ५ गते उजुरी दिएकी छिन् ।

पति र छोराछोरी दिदीको घरमा आयोजित पूजाका लागि गएको बेला एक्लै भएको मौका पारी जेठ ४ गते राति आरोपितहरुले कुटपिट गरी घाइते बनाएको पीडितले बताइन् ।

आरोपितहरुको घरमा कोही बिरामी परे वा समस्या आएमा सो को दोष लगाउँदै आरोपितहरूले मुक्का र लाठीले कुटपिट र दुर्व्यवहार गर्ने गरेको पीडितले बताइन् ।

यसबारे गाउँमा यसअघि पटकपटक छलफल हुँदा आरोपितहरूले कथित बोक्सीको आरोपमा दुव्र्यवहार नगर्ने प्रतिबद्धता जनाएपनि पुनः दुर्व्यवहार गरेकाले आवश्यक कारवाही गर्न पीडितले माग गरेकी छिन् ।

कुटपिटबाट घाइते भएकी पीडित महिलाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार हुन नसकेपछि चिकित्सकहरूले धरान रेफर गरेका छन् ।

कुटपिटबाट शरीरको विभिन्न भागमा चोटपटक लागेकी पीडितको घाँटी बाङ्गिएकोले थप उपचारका लागि धरान रेफर गरिएको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो