शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यरत भइ अनशनमा बसेका दुई जना नर्सको स्वास्थ्य अवस्था कमजोर बन्दै आएको अनशनरत नर्सहरूले बताएका छन् ।
पुराना कर्मचारीहरूलाई स्वतः स्थायी गर्नुपर्ने माग राख्दै वैशाख २७ गतेदेखि नेपाल नर्सिङ् सङ्घको कार्यलय अगाडि अनशनमा बसेका नर्सहरू जीता बराल र दिक्की शेर्पाको स्वास्थ्य अवस्था कमजाेर बन्दै आएको हो ।
बराल वैशाख २९ गतेदेखि छातिमा समस्या आएको भन्दै विपी कोइराला मेमोरियल अस्पताल बसुन्धारामा भर्ना भएकी छन् ।
उनी नेपाल नर्सिङ् सङ्घको कार्यलय लाजिम्पाटमा र शेर्पा शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा अनशन बसिरहेका थिए ।
केन्द्रका पुराना कर्मचारीलाई स्वतः स्थायी गर्नुपर्ने, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, काम गर्दै आएकालाई प्रोत्साहन गर्नुपर्ने, जोखिम भत्ता दिनुपर्ने लगायतका माग राखी ०७६ वैशाख ११ गतेदेखि नर्सहरू विरोधमा उत्रिएका थिए ।
शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक पुकारचन्द्र श्रेष्ठले नर्सहरूको कार्यअवधि, अनुभव र क्षमताको आधारमा व्यवहार नगर्दा नर्सहरूमाथि अन्याय भएको भन्दै सोविरूद्ध शेर्पा र बराल अनशनमा बसेका थिए ।
स्वास्थ्य मन्त्रालय सम्बद्ध पक्ष हालसम्म अनशनरत नर्सहरूको अवस्था बुझ्न नआएको र समस्याको हलसम्बन्धमो कुनै चासो नलिएको नर्सहरूको गुनासो रहेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने लोकसेवाले लिने भनिएको परीक्षामा नर्सहरू उत्तीर्ण नभए उनीहरू स्थायी नहुने तर करारमा भने काम गर्न पाउने बताए ।
यसअघि पनि नर्सहरूले विभिन्न माग राख्दै स्वास्थ्य मन्त्रालय, नेपाल नर्सिङ् सङ्घको कार्यालयलगायतका स्थानमा धर्ना दिने लगायतका विरोध कार्यक्रम गरेका थिए ।
नेपाल नर्सिङ् सङ्घले विगतमा कर्मचारीहरूको जायज मागहरूलाई सम्बोधन गरेपनि हाल लोकसेवामार्फत स्थायी गरिने विषयलाई नर्सहरूले नमान्दा सहयोग गर्न नसक्ने अवस्था रहेको जनाएको छ ।

