नरहरिनाथ गाउँपालिका–२ कोटबाडाका १० वर्षीय रत्न विष्टले जातीय विभेदका कारण जन्मदर्ताको प्रमाणपत्र पाउन सकेका छैनन् ।
सोही ठाउँका ३५ वर्षीय बिर्ख बिष्ट र ३० वर्षीया ओमसरा दर्जी बीच प्रेम सम्बन्ध भइ रत्न जन्मिएको १० वर्ष भएपनि रत्न अझै जन्मदर्ता पाउनबाट वञ्चित रहेका छन् ।
गैरदलित र दलित बीच प्रेम सम्बन्धबाट जन्मिएका रत्न बिष्टलाई बाबु बिर्ख बिष्टले छोराका रूपमा अस्वीकार गरेपछि उनले जन्मदर्ता नपाएका हुन् । जन्मदर्ता नहँुदा उनी राज्यले प्रदान गर्ने सेवा सुविधा पाउनबाट समेत वञ्चित भएका छन् ।
०६७ सालमा जन्मिएका रत्नका बाबु बिर्ख बिष्ट भएको भनि पुष्टि भएपछि स्थानीयबीच ०६७ भदौ ९ गते भएको छलफलमा रत्न ६ वर्ष पुगेपछि बाबुको घर लैजाने भनि दर्जी र कुमालगाउँ महासिंह बुढाको रोहबरमा कागज समेत गरिएको थियो ।
बालक १० वर्ष पुग्दापनि बुवा बिर्ख बिष्टले दलितबाट जन्मिएको बच्चा आफ्नो भएको तर दलित भएका कारणले जन्मदर्ता समेत बनाउन नमानेको बताउने गरेको स्थानीय प्रेम दर्जीले बताए ।
‘पहिला प्रेम गर्न र सम्बन्ध राख्न जातले छेकेन ।’–उनले भने–‘अहिले बच्चा भएपछि दलित भन्दै आफ्नो बच्चालाई नलिनु र जन्मदर्ता समेत नबनाउनु कस्तो न्याय हो ?’
रत्न बिष्ट अहिले आमासँगै मामा घरमा बस्दै आएका छन् । भाञ्जाको जन्मदर्ता गराउन बाबुको नागरिकता चाहिने भएकाले बाबुले नमान्दा नागरिकता बनाउनबाट वञ्चित भएको मामा जनक दर्जीले बताए ।
‘अहिले भान्जालाई मैले हेरविचार गर्दै आएको छु ।’–उनले भने–‘पहिला लैजाने भनेर कागज गरिएको थियो । अहिले कागज हातमा छ तर, बाबुले लान मान्दैनन् ।’
स्थानीय चौथीकोट आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्दै गरेको रत्न बिष्टले आफ्नै घरमा जान चाहेको बताए । ‘म मामा घर होइन आफ्नै घर जान चाहन्थेँ ।’–उनले भने–‘तर बाबा कहिल्यै लिन आउनु भएन ।’
दलितबाट जन्मिएको बच्चालाई बाबुको जिम्मा लगाउन पहल भइरहेको दलित अधिकारकर्मी बिर तिरूवाले बताए ।
‘दलितबाट जन्मिएको भनेर गैरदलित बाबुले लिन नमान्नु र जन्मदर्ता समेत नहुनु गम्भीर विषय हो ।’–उनले भने–‘यस विषय समाधान नभएमा कानुनी रूपमा समस्या समाधानको बाटो खोजी गरिनेछ ।’