INSEC Online

📅 २०८३ जेष्ठ २१

६ महिनादेखि एम्बुलेन्स बिग्रिँदा सेवाग्राही मर्कामा

जिल्ला अस्पताल स्याङ्जामा रहेको एम्बुलेन्स बिग्रिएपछि बिरामीलाई समस्या भएको छ । एम्बुलेन्स बिग्रिएको ६ महिना बितिसक्दा पनि मर्मत नहुँदा सास्ती खेप्नुपरेको पुतलीबजार नपा–३ का रविन्द्र श्रेष्ठले बताए ।

जिल्ला अस्पतालमा उपचारका लागि पुगेका बिरामीलाई थप उपचारको लागि अन्यत्र लैजानु पर्ने अवस्था आउँदा एम्बुलेन्स नभएपछि ट्याक्सी र अन्य सवारी साधन लैजाँदा जोखिम र समय बढी लाग्ने गरेको श्रेष्ठको भनाई छ ।

‘जटिल स्वास्थ्य अवस्था भएका बिरामीलाई एम्बुलेन्समा अक्सिजन लगाएर पनि लैजानुपर्ने हुन्छ । तर, ट्याक्सीमा यो सुविधा हँुदैन । यसले गर्दा पनि एम्बुलेन्सको अभावमा बिरामी मर्कामा परेका छन् ।’– श्रेष्ठले भने ।

जिल्ला अस्पतालका प्रमुख डाक्टर अमृत पोख्रेलले ६-७ महिनादेखि जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेकोबारे सम्बन्धित निकायलाई खबर गरेको भएपनि समस्या समाधान नभएको बताए ।

‘उपचारका लागि आउने बिरामी रिफर गर्नुपर्ने अवस्था आयो भने ट्याक्सी खोजेर जाने गरेका छन् । अस्पतालका समस्याका बारेमा सबैले आश्वासन मात्रै दिए तर सहयोग गरेनन् ।‘–पोख्रेलले भने ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माले एक वर्ष अघिदेखि बिग्रिएको एम्बुलेन्सलाई बेलाबेलामा मर्मत गरेर जेनतेन सञ्चालनमा ल्याएपनि पछिल्लो समय धेरै बिग्रिन थालेपछि मर्मत गर्न नसकिएको बताए ।

शर्माले भने–‘एक पटक मर्मत गर्दा २ लाख रुपियाँसम्म खर्च हुन्छ । मर्मत ग¥यो फेरि केही दिनमा बिग्रिएर हैरान पारेपछि मर्मत गर्न छाडिएको हो । अहिले त्यसै थन्क्याइएको छ ।’

मर्मत गरेर पार लाग्ने नदेखिएपछि गण्डकी प्रदेश सरकारसँग एम्बुलेन्सको माग गरिएको शर्माले जानकारी दिए ।

अन्य

भिडियो