INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद तथा कुटपिट घटनाका आरोपित गिरफ्तार

मेलम्ची नगरपालिका–३ की २७ वर्षीया भावना बुढाक्षेत्री (घले) लाई दलित भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ६४ वर्षीय सानो रामबहादुर घले र ३८ वर्षीय ज्ञानेन्द्र घलेलाई वैशाख २३ गते प्रहरीले हैवुङबाट गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितद्वयले ०७५ चैत १७ गते पँधेरोमा पानी थाप्न लाग्दा कामीको छोरी भन्दै गालीगलौज गरी कुटपिट गरेको पीडित महिलाको आरोप छ ।

पीडितले त्यसको प्रतिकार गर्दा आरोपितले यौनाङ्ग देखाएको भन्दै पीडित पक्षले इन्सेक जिल्ला प्रतिनिधिको सहयोगमा आरोपितविरूद्ध ०७५ चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले चैत ३० गते इलाका प्रहरी कार्यालय मेलम्चीमा दर्ताको लागि पठाएको र उक्त उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गर्न जाँदा आरोपित फरार रहेकोले गिरफ्तार गर्न नसकिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले बताए ।

अहिलेसम्म लुकीछिपी रहेका आरोपितहरूलाई गिरफ्तार गरी अनुसनधानको लागि इलाका प्रहरी कार्यालयले थुनामा राखेको प्रहरीले जनाएको छ  ।

अन्य

भिडियो