तातोपानी गाउँपालिका–७ सर्मीगाउँमा मौसमी फ्लुका कारण स्थानीय बिरामी हुने गरेका छन् । मौसमी फ्लु रूघाखोकीले गाउँका अधिकांश स्थानीय बिरामी पर्न थालेका हुन् ।
रूघाखोकीले स्थानीय नागरिक धमाधम बिरामी भएर थला पर्न थालेपछि उपचारका लागि दौडधुप भइरहेको छ ।
उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएका हंश कुँवरको परिवारका मात्रै ६ जना मौसमी फ्लु रूघाखोकीले थला परेका छन् ।
उनी पाँच दिनदेखि अस्पतालमै भर्ना भएका छन् । उनले भने–‘मलाई दुई दिनसम्म आइसियुमै राखेर उपचार गरियो । तर, अरू परिवार सामान्य उपचारपछि निको भएका छन् ।’
बिरामीलाई ज्वरो आउने, रिङ्गटा लाग्ने, बान्ता हुने, खाना नरूच्ने जस्ता लक्षण देखिएको स्थानीय सुर्य बुढाले बताए ।
‘गाउँमा बिरामी नभएको घर नै छैन । एकै घरका अधिकांश परिवार बिरामी छन् ।’–उनले भने–‘गाउँमा बृद्धबृद्धा र बालबालिकामा बढी समस्या देखिएको छ ।’
उनका अनुसार गाउँमा २ सयभन्दा बढी मानिस बिरामी भएर थला परेका छन् । जनता सेवक आधारभुत विद्यालय काटियामा अध्ययनरत अधिकांश विद्यार्थी बिरामी परेपछि पठनपाठन नै प्रभावित भएको शिक्षक हेमराज कुँवरले बताए ।
सर्मीगाउँमा देखिएको मौसमी फ्लु रूघाखोकीले नजिकका छिमेकी गाउँ सुर्की, ताम्ती, बारागाउँ र नुवाकोटमा पनि सर्ने डर रहेको वडाध्यक्ष मकरबहादुर रावतले बताए ।
तातोपानी गाउँपालिका स्वास्थ्य संयोजक गुरूप्रसाद चौलागाँईले सर्मी गाउँमा फैलिएको कुनै अज्ञात रोग नभएर मौसमी फ्लु रूघाखोकीको भाइरल रहेको दावी गरे ।
मौसम परिवर्तन तातो चिसोको बीचमा यस्तो किसिमको मौसमी फ्लु फैलिने गर्दछ यसमा विशेष गरी स्थानीयले खानपिनमा ध्यान दिनुपर्ने हुन्छ ।
‘विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकहरूलाई मौसमी फ्लु रूघाखोकीले बढी प्रभावित हुने गर्दछन् ।’–उनले भने–‘यस्तो अवस्थामा घरका अन्य सदस्यले तातो झोलिलो खानपिनमा सघाउनु पर्छ ।’
उनका अनुसार लामाबगर स्वास्थ्य चौकीसँगको समन्वयमा प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचार भइरहेको छ ।
वैशाख २३ गते नै शिविर सञ्चालन गरी ६० जनाको उपचार गरिएको छ । अहिले सबै बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दै आएको छ । जटिल समस्या देखिएको खण्डमा थप उपचारका लागि तयारी अवस्थामा छौँ ।’–उनले भने । ‘औषधि र स्वास्थ्यकर्मीको अवस्था मजबुद बनाएका छौँ ।’