अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यकारी निर्देशक विजयराज गौतम, गण्डकी प्रदेश संयोजक शिव खकुरेललगायतको टोलीले मुस्ताङ जिल्लाको मानव अधिकारको विषयमा सरोकारवालासँग भेटघाट तथा छलफल गरेको छ ।
छलफलका क्रममा जिल्ला प्रहरी कार्यालय, मुस्ताङका डिएसपी दानबहादुर कार्कीले जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना निकै कम हुने गरेको जानकारी दिए ।
‘जिल्लामा अहिले अवस्था सामान्य छ । मानव अधिकार उल्लङ्घनका कुनै घटनाहरू प्रहरीमा आएका छैनन् ।’–उनले भने । कार्कीले मानव अधिकारका सवालमा प्रहरी उच्च संवेदनशिल रहेको बताए ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले गाउँपालिकाबाट प्रवाह गरिने सेवाहरू प्रभावकारी रूपमा प्रवाह भइरहेको बताए । अध्यक्ष थकालीले गाउँपालिका भित्र मानव अधिकार उल्लङ्घनका घटनाहरू नभएको बताए ।
सोही गाउँपालिकी उपाध्यक्ष शर्मिला गुरुङले गाउँपालिकास्थित न्यायिक समितिमा अहिलेसम्म कुनै पनि घटनाको उजुरी नआएको भेटघाटका क्रममा बताइन् ।
‘सचेतना मुलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । गाउँपालिकामा महिला तथा बाल अधिकार उल्लङ्घनका घटनाहरू हुने गरेको पाएका छैनौँ ।’–उनले भनिन् ।
भेटघाटका क्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले मानव अधिकार बिना लोकतन्त्र संस्थागत नहुने हुँदा स्थानीय सरकार, प्रहरीलगायत राज्यका सबै निकायहरू मानव अधिकारप्रति संवेदनशिल रहनुपर्ने भनाई राखेका थिए ।