“म घरबाट निस्कँदा छोराछोरी सुतेकै हुन्छन् । उनीहरूलाई पाल्न बिहानै फाल्तु कागज, प्लाष्टिक, सिसी खोज्छु । त्यही बेचेर बेलुकी दाल, चामल, तरकारी किन्ने हो ।” यो दैनिकी हो कवाडी सङ्कलन गर्ने मीना तमाङको । चार वर्ष उनका पतिले गाउँतिरकै एक महिलासँग अर्को बिहे गरे ।
तीन छोराछोरीको लालन पालन उनको काँधमा भएकाले मीनालाई अरू विषयमा खासै ध्यान छैन । आफूहरू जस्तै श्रमिकहरूको लागि विश्वभर मनाइएको मे दिवशका विषयमा उनलाई केही पत्तो नै छैन ।
“मलाई केही थाहा छैन । एकदिन कवाडी जम्मा नगरे खान पाइँदैन । के को मे दिवश मनाउनु ?”–उनी दुखेसो पोख्छिन् –“घरबार केही नभएको म जस्तो महिलाका लागि श्रमिक दिवशको के काम ? ठुलठुला नेताहरूका लागि पो हो त दिवश !”
१४ वर्षको उमेरमा रामेछापका रणबहादुर लामासँग भागी विवाह गरेकी उनी यस्तो काम गर्न थालेको १७ वर्ष पुगिसकेको बताउँछिन् ।
यो अवधिमा उनको न ओत लाग्ने छानो छ नत खाने सामल नै । मीनाले जेनतेन छोराछोरी सरकारी विद्यालय पठाएकी छिन् ।
सात जुीन सँगै मर्ने सँगै बाँच्ने कसम खाएर काठमाडौँ ल्याएर अलपत्र पारेका पतिको व्यवहारले मीनाको मन साह्रै कुँडिएको छ । सबै मजदुरहरूले मनाउने भनिएको श्रमिक दिवशले उनको मनलाई पटक्कै छोएको देखिन्न ।
मजदुर दिवशकै दिन काठमाडौँको कुलेश्वरमा भारी बोक्ने दिलबहादुर बयाले पनि सदा झैँ भारी बोकेकै अवस्थामा भेटिए । श्रमिक दिवशका बारेमा सोध्दा उनले अनभिज्ञता प्रकट गरे ।
“हामी जस्ताको पनि दिन हुन्छ र ? दिनभरी साहुको भारी बोक्यो । त्यसबाट आएको पैसाले दाल चामल किनेर खायो । अरू केही थाहा छैन ।”–उनले भने ।
बाबुको मन न हो । परिवारको दुःख टार्न विदेश गएका छोराको यादले भने उनलाई बुहत सताउँदो रहेछ । उनी भन्छन्–“जेठो छोरो सानैमा साउदी गएको हो । चार वर्ष भयो मुखसम्म देख्न पाइएको छैन । अलिअलि पैसा कहिलेकहीँ साहुले दिएको बेला पठाउँछ ।”
स्थायी घर सिन्धुलीको कमलामाईमा भएका उनको सम्पतीका नाममा दश पाथी मकै फल्ने पाखो बारी मात्र छ । “त्यसले कसरी परिवार पाल्नु ?”–उनको प्रश्न छ ।
“भोट माग्ने नेताहरूले हाम्रो कुरा कहिल्यै सुनेनन् । चुनावको बेला मात्र हामीलाई भोट हाल्ने निहुँमा खोज्दै आउँछन् । त्यसपछि भने कुनै वास्ता गर्दैनन् । आफूले दुःख नगरी मुखमा माड जाँदैन ।”–उनले भने–“दिनभर मरिमरि भरियाको काम गरेर आएको ७-८ सय रुपियाँ नै सिङ्गो परिवारको बाँच्ने आधार हो । यति नगरी त बाँच्नै मुस्किल छ ।”
आठ घण्टा काम र आठै घण्टा आरामको माग राख्दै सुरू भएको मे दिवशले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई खासै छोएको छैन ।
उनीहरूको हितमा राज्यले जीवन बिमा, स्वास्थ्य उपचार बिमा र सामाजिक सुराक्षाको दायरामा समेट्न हालसम्म केही पनि गरेको छैन ।
१६ वर्षको उमेरदेखि नै घरमा पेन्टिङ गर्दै आइरहेका दोलखाका महेश बिकको गुनासो पनि यस्तै छ ।
“ठुला अफिसमा काम गर्ने कर्मचारीहरूले त आफ्नो उपचार गर्न सक्छन् । मर्ने त हामी जस्ता मजदुर नै हो । रङ्ग लगाउन अग्ला घरहरूमा झुण्डिँदै गर्दा बाबुआमाको खुब याद आउँछ । पत्नी र छोराछोरीको अनुहार झल्झली आँखामा आउँछ । तर, पेट पाल्ने बाटो अर्को छैन । खै हाम्रो पीडा कसले बुझ्ने ?”–उनले भने ।





