दैनिक काममै व्यस्त । काम नगरे छाक टर्दैन । रेसुङ्गा नगरपालिका–९ की गोमा सुनारलाई मजदुर दिवसको अत्तोपत्तो छैन । ‘के हो र दिवस ?’–उनले उल्टै प्रश्न गरिन् । बिहानै काममा आउने सुनार रात नपरी कोठामा पुग्न पाउँदिनन् । दिनको उज्यालोमा उनले आफ्नो कोठा नियाल्न पाएकी छैनन् । ‘गरिबलाई जे दिवस भए पनि के काम ?’
चिदिचौर नजिकैको सडकमा काम गर्दै गरेकी सुनारले दैनिक ४ सय रुपियाँ कमाउँछिन् । बालुवा र इँटा बोक्ने, ढुङ्गा दिने र मसला बनाउने काम उनले पनि गर्छिन । तर, पारिश्रमिक एउटै छैन् । उनीसँगै काम गर्ने पुरुषले भने दैनिक ७ सय रुपियाँ कमाउँछन् । वैशाख १८ गते १३० औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको छ । तर, गोमालाई पत्तो छैन । ‘समान काम, समान ज्याला, आठ घण्टा काम ,आठ घण्टा आराम’ नारामै मात्र सिमित भएको छ ।
प्युठानको गौमुखी गाउँपालिका–३ की आयुना घर्तीमगरले दिवसको अहिलेसम्म पत्तो नभएको बताइन् । पेट धान्नै पर्ने बाध्यता छोडेर दिवस भन्दै नारा लगाउन नजाने उनको भनाई छ । त्यस्तै पाल्पाको रैनादेवी गाउँपालिका–६ का थम्मन राकसकोटीले हातमा फोरा नपरेसम्म जिविकोपार्जन नहुने भएकाले घाम उदाएदेखि अस्ताउँदासम्म काममै व्यस्त हुने बताए । १६ वर्षदेखि ज्याला मजदुरी गदै आएका राकसकोटीले चुनावले नेताले भनेका कुरा पूरा गरे सुख हुने बताउँछन् । ‘श्रमिक चुनावका भोट, अरू बेला चोटनै चोट !’
जिल्लामा बाल श्रमिकको अवस्था अत्यधिक रहेको छ । तर, एकिन तथ्याङ्क कसैसँग छैन । जिल्लाका होटल र निर्माणका काममा धेरै बालबालिकाको प्रयोग भइरहेको देखिन्छ । केही समय पहिले जिल्ला बाल सञ्जाल, प्रहरी, प्रशासन, इन्सेक र सृजनशील सामुदायिक विकास केन्द्रको पहलमा बाल श्रमिकलाई कामबाट मुक्त गर्ने अभियान सञ्चालन गरिएको थियो । अहिलेसम्म होटेलमा काम गर्ने १२ देखि १८ वर्षका २० जना बालबालिका उद्धार गरिएको छ ।
भेटिएका बालबालिका धेरै नपढेका र केहीले बिचमै छाडेका छन् । उद्धार गरिएका बालबालिकाहरु अधिकांश बिहानबाट बेलुकासम्म काम गर्ने, विद्यालय नपठाउने, पारिश्रमिक समयमै नदिने लगायतका समस्या रहेको जिल्ला बाल सञ्जालका अध्यक्ष सुमन पन्थीले बताए । होटेलमा काम गर्ने मात्रै नभएर अन्य विकास निर्माणका काममा लगाएका बालबालिकाहरूको स्थिति पनि उस्तै छ ।
तम्घासको होटलमा काम गर्ने १५ वर्षीय विकास पुनले होटेलका काममानै व्यस्त हुने भएकाले बिहानदेखि बेलुकासम्म काम गर्नुपर्ने बाध्यता रहेको बताए । उनले चिसोको समय हात खुट्टा सुन्निएर कहिलेकाँहि रुने गरेको पीडा समेत सुनाए । होटेल तथा निर्माणका काममा लगाइएका बालश्रमिक ५० प्रतिशत प्यूठानका, ३० प्रतिशत बाग्लुङ र बाँकी गुल्मीका रहेको जिल्ला बाल सञ्जालका अध्यक्ष पन्थीले जानकारी दिए ।
१३० औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले वास्तविक श्रमिक आर्थिक र सामाजिक रूपले पछि पर्नु दुखद् भएको बताए । निर्माण मजदुर हक हित संरक्षण समितिका अध्यक्ष ओले रानाले आफूहरूले श्रमिकहरूलाई एकताबद्ध गर्न खोजे पनि राज्यलेनै श्रमिकको पक्षमा रचनात्मक काम नगरेको आरोप लगाए ।

