INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरित बालकको भारतबाट उद्धार

राजगढ गाउँपालिका–३ नर्घोका १२ वर्षीय लक्ष्मण यादवलाई सप्तरी प्रहरीले वैशाख १७ गते उद्धार गरी आमा उर्मिलादेवी यादवको जिम्मा लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार अपहरित बालकलाई भारत बिहारको सितामढी कुम्भ सिवहरबाट उद्धार गरिएको हो ।

प्रहरीको चार ओटा टोलीले गएराति अपहरणकारीहरूलाई घेराउ गरेपछि सिवहरस्थित एक होटलमा ल्याई बालकलाई बेवारिसे अवस्थामा छाडेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले बताए ।

वैशाख १३ गते राति मामाको बिहेमा जन्ती गएका बालकलाई मोटरसाइकलमा आएका दुई जनाले राजगढ गाउँपालिका–३ नर्घोबाट अपहरण गरेर लगेको लक्ष्मणले बताए ।

बालकका अनुसार उनलाई मुखमा टेप लगाई डोरीले हात बाँधेर राखिएको थियो । बालकलाई अपहरणकारीहरूले खानेकुरामा लठ्याउने नशालु पदार्थ दिएर बन्धक बनाई राखेको प्रहरीले जनाएको छ ।

महादेवा गाउँपालिका–२ अकबरपुरका भोलेन्द्र यादवको राजगढ गाउँपालिका–३ नर्घोकी मनीषाकुमारी यादवसँग भइरहेको विवाहमा बालक जन्त गएका थिए ।

भोलेन्द्रका अनुसार सुरूमा उनकै अपहरणको प्रयास भएकोमा घरपरिवारका मानिस तत्कालै आइ पुगेकाले जोगिएको तर सबैजना स्वयम्बरमा अल्मलिएका बेला भाञ्जाको अपहरण भएको हो ।

बिहे घरबाटै अपहरण भएपछि भोलेन्द्रले वैशाख १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीका अनुसार बालकको उद्धारका लागि एसपी विष्टकै कमाण्डमा सादा पोशाकका २३ जना प्रहरी परिचालित गरिएको थियो ।

बालकलाई उद्धार गर्नु अघि सप्तरी प्रहरीले नेपालका तीन जनालाई नियन्त्रणमा लिएको छ । उनिहरूमाथि थप अनुसन्धान भइरहेकोले प्रहरीले शङ्कास्पद आरोपितहरूलाई सार्वजनिक गरेको छैन ।

अन्य

भिडियो