मधेसी आयोगले राजविराजमा वैशाख १६ गते प्रदेश २ स्तरीय अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम गरेको छ ।
पहिलो पटक आयोगद्वारा आयोजित अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष डा. विजयकुमार दत्तले मधेसी समुदायको समग्र स्थितिको अध्ययन गरी नीतिगत, कानुनी र संस्थागत सुधारका साथै सशक्तिकरणका लागि प्रभावकारी काम गर्ने बताए ।
मधेसको साझा समस्या र विषयहरूमा पूर्ण जवाफदेही र इमान्दारीका साथ काम गर्ने बताएका दत्तले प्रदेश १, २ र ५ मा अनुशिक्षण कार्यक्रम सञ्चालन गरिने तर जुम्ला, डोटीमा रहेका मधेसी समुदायका मानिसलाई समस्या पर्दा त्यहाँ पनि पुग्ने बताए ।
मधेसी आयोग गठन भएको ३९औँ दिन आफ्नो जन्मथलो सप्तरी आएका अध्यक्ष दत्तले मधेसका मुद्दाहरूलाई प्राथमिकतामा राखेर काम गर्न विलम्ब नगर्ने प्रतिबद्धता जनाए । सप्तरीको बलान बिहुल गाउँपालिका जन्मस्थान रहेका दत्तको बसाई हाल जनकपुरमा छ ।
काठमाडौँमा २ सय बढी विषय विज्ञहरूसँग छलफल गरेपछि पहिलो पटक सप्तरीमा अनुशिक्षण कार्यक्रम सुरू गरेको जानकारी दिँदै अध्यक्ष दत्तले आयोगको नियमावली र निर्देशिका चाँडै बन्ने क्रममा रहेको बताए ।
चुरे क्षेत्रको प्राकृतिक दोहनलाई न्यूनीकरण गर्न सरोकारवालासँग छलफल गरिने बताएका दत्तले नागरिक बडापत्र समेत तयार पारिने बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले सबै क्षेत्रमा पहुँच हुन नसकेको मधेसी समुदायको हकहित र संरक्षण सम्बर्द्धन गर्न आयोग दत्तचित भएर अगाडि बढने विश्वास व्यक्त गरे ।
वक्ताहरूले मधेसी समुदायको स्पष्ट परिभाषा हुनुपर्ने, आयोगको सिफारिस कार्यान्वयन हुनुपर्ने, आयोगलाई स्वायत्त र अधिकारसम्पन्न बनाउनु पर्ने, मधेसी समुदायको समग्र स्थितिको अध्ययन तथा खोज गरी वास्तविक तथ्याङ्क तयार गर्नुपर्ने तथा नीतिगत, कानुनी र संस्थागत सुधारका विषयहरू पहिचान गर्नुपर्ने आवश्यकता औँल्याए ।


