चालकको लापरवाहीका कारण लम्कीचुहा नगरपालीका निवासी लम्की बहुमूखी क्यापसमा अध्ययनरत १९ वर्षीया छात्रा सुनिता रावलको वैशाख १७ गते मृत्यु हुन गएको भन्दै स्थानीयहरूले प्रदर्शन गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको छ ।
झडपका क्रममा सात जना सुरक्षाकर्मी र एक जना स्थानीय घाइते भएको जनाइएको छ । घाइते हुने सुरक्षाकर्मीहरूमा गणेश रावल, सुरत रावल, रामबहादुर बुढा, प्रेम सिंह धामी, बमबहादुर सुनार, फलाराम चौधरी, सन्दिप चौधरी र स्थानीय प्रेमराज मुडभरी रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीमा डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
घाइते सबैजनाको लालरत्न अस्पताल, लम्कीमा उपचार भइरहेको र स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको डिएसपी बस्नेतले बताए ।
प्रहरीले ट्रक चालक सुनील भण्डारीलाई नियन्त्रणमा लिएर कारवाही गर्ने बताए पनि स्थानीयहरूले ट्रक तोडफोड गर्नुको साथै सडकसमेत बन्द गराई मृतकको परिवारलाई उचित क्षतिपुर्तिको माग राखी प्रदर्शन जारिराखेका छन् ।
पुर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ९२३३ नम्बरको ट्रकले लम्कीचुहा नगरपालिका निवासी लम्की बहुमूखी क्यापसमा अध्ययनरत छात्रा १९ वर्षीया सुनिता रावललाई वैशाख १७ गते बिहान लम्कीबाजरमा ठक्कर दिँदा मृत्यु भएको थियो ।