मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको आधिकारिक दस्तावेज भएको तनहुँका सरोकारवालाहरूले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा वैशाख १० गते दमौलीमा भएको विभिन्न पक्षसँगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले मानव अधिकार वर्ष पुस्तकको माध्यमबाट देशको मानव अधिकारको अवस्था जानकारी लिन पाइने बताए ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल, नर्वेजियन दुतावासका राजनीतिक सल्लाहकार टोर्न लोभडालसहितको टोलीसँगको भेटघाट तथा अन्तरिक्रयामा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले मानव अधिकार वर्ष पुस्तकले मानव अधिकारको घटनालाई दस्तावेजीकरण गरेर मानव अधिकारको अवस्थाको बारेमा सूचित गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जिल्लामा पछिल्लो समयमा मानव अधिकार हनन्का घटनाहरूमा कमी आएको भन्दै भएका घटनाहरूको मानव अधिकार वर्ष पुस्तकमा अभिलेखिकरण गरेर भविष्यको लागि सुरक्षित गर्ने काम इन्सेकले गरेको बताए ।
अहिले मानव अधिकारको प्रकृति विगतको भन्दा केही फरक रहेको भन्दै प्रजिअ शर्माले आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार हनन्का विषयलाई पनि वर्ष पुस्तकमा समावेश गर्नु पर्ने बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले सशस्त्र द्वन्द्वको क्रममा भएका क्षतिहरूमा राहत दिने क्रममा मानव अधिकार वर्ष पुस्तक निकै सहयोगी भएको बताए ।
जिल्ला प्रहरी कार्यालयका एसपी विनोद सिलवालले जनताको मानव अधिकार संरक्षण गर्न प्रहरी सँधै तत्पर रहेको भन्दै इन्सेकलगायतको संस्थाले पनि समय समयमा अनुगमन गर्नु पर्ने बताए ।
छुट्टाछुट्टै भएको भेटको क्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सामाजिक न्यायको प्रत्याभूति नभई मानव अधिकारको संरक्षण र सम्बर्द्धन नहुने बताए ।
संविधानले मौलिक हकको रूपमा व्यवस्था गरेका अधिकारलाई जनतालाई उपलब्ध गराएमा वास्तविक रूपमा मानव अधिकारको संरक्षण हुने बताए ।
प्रमुख न्यौपानेले इन्सेकले सबैसँग सहकार्य र समन्वय गरी मानव अधिकार संरक्षणको क्षेत्रमा काम गरेको बताए । जिल्लाका नागरिक समाजका प्रतिनिधिहरुले पनि मानवअधिकार संरक्षणमा सबैसँग हातोमालो गरेर काम गरिरहेको बताए ।