शहीदनगर नपा–१ चिरैयाकी २१ वर्षीया निर्मलादेवी यादवलाई मट्टितेल छर्केर आगो लगाएको घटनाका आरोपित पति २३ वर्षीय मुकेशकुमार गोइत यादवविरूद्ध पीडित पक्षले वैशाख ९ गते इलाका प्रहरी कार्यालय सबैलामा उजुरी दिएको छ ।
घटनाका आरोपित फरार रहेकोले खोजी कार्य जारी रहेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर चन्द्रभुषण यादवले बताए ।
घरमा कोही नभएको अवस्थामा आरोपितले पत्नी निर्मलालाई वैशाख ५ गते मट्टितेल छर्केर आगो लगाई फरार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीले बताए ।
घाइते निर्मलाको उपचार जनकपुर अञ्चल अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि टिचिङ अस्पताल काठमाडौँ रेफर गरिएको थियो ।
त्यहाँ पनि उपचार सम्भव नभएपछि घाइते निर्मलालाई कीर्तिपुर अस्पताल काठमाडौँमा लगी उपचार भइरहेको छ ।
निर्मलाको कुम र छाती भन्दा तलको भाग जलेको छ । उपचारमा संलग्न डा. सुरेन्द्रजङग बस्नेतले निर्मलाको ३५ प्रतिशत बढी शरीरको भाग जलेको बताएका छन् ।
दाइजोको कारण बिहान पतिसँग सामान्य झगडा भएको र त्यसकै निहुँमा दिउँसो निर्मलाको शरीरमा मट्टितेल छर्केर आगो लगाएको पीडित पक्षको आरोप छ ।
पीडित निर्मलाको १० महिनाअघि शहीद नपा–१ स्थित चिरैया गाउँमा मुकेश कुमारसँग विवाह भएको थियो ।
९ लाख रुपियाँ कर्जा लिएर बहिनीको विवाह गरेको निर्मलाका दाई राकेश यादव बताउँछन् । विवहामा ३ लाख रुपियाँ नगद, डेढ तोला सुन र केही जिन्सी दाइजो दिएको उनले बताए ।