नौबस्ता गाविस-७ की ६४ वर्षीया देवीसरा विकको हत्या गरेको आरोपमा उनका ज्वार्ँइ हस्तबहादुर विकविरुद्ध इलाका प्रहरी कार्यालय कोहलपुरमा कात्तिक ३ गते उजुरी दर्ता गरिएको छ ।
पीडित महिलालाई आरोपितले कात्तिक १ गते घाँटी कसेर हत्या गरी छोरासहित फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । आरोपित छोरासहित घर ज्वाँईका रूपमा मृतककै घरमा बस्दै आएका थिए ।
घाँटीमा पासो लगाएर हत्या गरिएको अवस्थामा आफ्नै घुम्ती पसलमा मृतकको शव फेला परेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश अवस्थीले जानकारी दिए ।
घटनास्थलबाट आरोपितको पर्स र मोबाइल फोन बरामद गरिएको इन्स्पेक्टर अवस्थीले बताए ।
मृतक महिलाको शव पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल नेपालगन्जमा राखिएको प्रहरीले जनाएको छ ।