INSEC Online

📅 २०८३ जेष्ठ २१

कैदले सीप, सीपमार्फत घर खर्च !

चन्द्रकोट गाउँपालिका–१ दिब्रुङका सूर्य बिक बलात्कार मुद्दामा जेल परे । २०७० सालमा जिल्ला कारागार आएका बिकले अहिले मासिक १२ हजार रुपियाँ कमाउँछन् । उनले अहिले कैदसँगै सीप सिकिरहेका छन् ।

‘कैदले सीप दियो, सीपबाट परिवार चलेको छ ।’–बिकले भने–‘उद्यमले समय राम्रै बितिरहेको छ ।’ विकले कारागारमा ढाकाको सल बनाउँछन् । खर्च कटाएर मासिक ८ हजार रुपियाँ बचाउने गरेको उनको भनाई छ । कारागारमै बसेर ६ जनाको परिवारको खर्च चलाइरहेको बिकले बताए ।

चन्द्रकोट गाउँपालिका–२ विश्वुखर्कका राजु नेपाली कारागारमा मुडा बनाउँछन् । उनको मासिक आम्दानी ८ देखि १० हजार रुपियाँ हुन्छ । उनी बलात्कार मुद्दामा २०७० सालमा जेल परे । सीप सिकेर अहिले उद्यमी बनिरहेका छन् । बिक र नेपाली मात्र होइनन्, कैदी जीवन बिताइ रहेका २४ वर्षीय लेखनाथ गिरीले पनि महिनाको ८ देखि १० हजार कमाउँछन् । बाँसको टेबल, कुर्सी र मुडा बनाउने काम लेखनाथको हो । कारागारका सह–नाइके समेत रहेका गिरीले परिवारमा समेत राम्रै पैसा पठाउँदै आएका छन् ।

धुर्कोट गाउँपालिका–३ हाडहाडेकी शान्ता पुनले अहिले स्वेटर बुनिरहेकी छन् । ‘भर्खर तालिम सकियो । अहिले आफैँलाई बुनेका हौँ ।’–पुनले भनिन्–‘अब व्यावसायिक उत्पादन सुरू गर्ने हो ।’

पुन कर्तव्य ज्यान मुद्दामा जेल चलान भएकी हुन् । गुल्मी कारागारमा उद्यम गरेरै परिवार पाल्नेहरूको सङ्ख्या धेरै छ । विभिन्न मुद्दामा जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूले बाँसका मुडा, कुर्सी, डाइनिङ्ग टेवल, चुरिष्ट, गमला, ढाकाका सल र स्वेटरलगायतका सामग्रीहरू उत्पाद गरिरहेका छन् ।

कारागारको प्रमुख उत्पादन बाँसका मुडाहरू जिल्लाका विभिन्न बजार र बुटवल, पोखरा, काठमाडौँ लगायतका स्थानमा समेत जाने गरेको कारागार प्रमुख उद्धव पन्थीले बताए ।

घरेलु तथा साना उद्योग विकास समिति तथा अन्य सरकारी एवम् गैरसरकारी सङ्घसंस्थाको सहयोगमा कैदीबन्दीहरूले बेलाबेलामा तालिम लिइरहेका छन् । अहिले भर्खरै पनि कारागारले १ लाख रुपियाँको लागतमा महिलाहरूको लागि स्वेटर तथा पुरूषहरूका लागि सिलाइकटाई तालिम दिइएको पन्थीले बताए ।

जिल्ला कागारमा उत्पादन हुने बाँसका मुडा ४ सय ५० देखि ५ सय ५० रुपियाँ, डाइनिङ्ग टेवललाई ५ सयदेखि १ हजार रुपियाँ, सल १ हजार २ सयदेखि १ हजार ५ सय रुपियाँसम्ममा विक्री हुने गरेको कारागारका चौकीदार दिपक गिरीले बताए ।

कर्तव्य ज्यान र बलात्कार मुद्दामा जेल परेका सबैभन्दा पुरना कैदी पदम मुखियाले कारागार अत्यन्तै जीर्ण तथा साँधुरो भएकाले अन्य तालिम र कामहरू गर्न मुस्किल परेको बताए ।

साथै मानव बेचबिचन मुद्दामा जेल परेका माधव कडेलले कारागार आफ्नो सिक्ने पाठशाला जस्तै भएको बताए । जिल्ला कारागारमा एक आश्रित बालिकासहित हाल ६७ जना रहेका छन् ।

कारागारमा मैनबत्ति र अगरबत्ति पनि उत्पादन हुँदै आएको थियो । भवन अभावको कारण मैन तथा अगरवत्ति उत्पादन भने पछिल्लो समय बन्द गरिएको छ ।

जीर्ण कारागार र त्यसैमाथि व्यावस्थापन गर्न नसकेपछि मैन र अगरवत्तिको उत्पादन बन्द गर्नुपर्ने बाध्यता आएको कारागार प्रमुख उद्धव पन्थीले बताए ।

संरचनाको कारण उद्यम मरिरहेकोमा उनले दुख व्यक्त गरे । साथै पछिल्लो समय बायो ग्यास बिग्रिएकाले दाउरा व्यावस्थापनमा समेत मुस्किल परेको उनले बताए ।

photo20190413gulmi1

photo20190413gulmi2

photo20190413gulmi3

अन्य

भिडियो