तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा धरौटीमा रिहा भएका १५ वर्षीय बालकलाई जिल्ला अदालतले चैत २६ गते नौ महिना कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै नौ महिना बालसुधार गृहमा राखी कैद भुक्तान हुने गरी फैसला सुनाएको हो ।
पीडितलाई आरोपित बालकले ०७५ भदौ २६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ २८ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २९ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको थियो । पीडितको निवेदनपछि भदौ ३० गते गिरफ्तारीमा परेका बालकलाई अदालतले असोज २२ गते ५० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
मुलुकी अपराध संहिता २०७४ को दफा २२५ (१) विपरीत बालबिज्याईँ गरेकोमा सोही दफा २२५ (३) अनुसार १ वर्ष ६ महिना सजाय हुने व्यवस्था छ ।
सोही दफा अनुसार कसुरदार नाबालक ठहरिएकाले उमेर पुगेकाको हकको आधा सजाय पाउने व्यवस्था रहेकाले ९ महिना कैदको फैसला सुनाइएको स्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।