INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारी चिकित्सकहरूको आन्दोलनका कारण बिरामी मर्कामा

समायोजनका विषयमा असहमति जनाउँदै सरकारी चिकित्सकले चार दिनदेखि सुदूरपश्चिमका सरकारी अस्पतालमा आकस्मिक सेवावाहेक अन्य सवै सेवाहरू बन्द गरेपछि बिरामीहरू समस्यामा परेका छन् ।

चिकित्सकहरूको अनिश्चितकालीन आन्दोलनका कारण सुदुरपश्चिम प्रदेशको धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा आकस्मिकवाहेक अन्य सम्पूर्ण सेवाहरू बन्द गरेका छन् । जसका कारण यस प्रदेशका अन्य जिल्लाबाट आउने बिरामीहरू निजी अस्पतालमा महँगोमा उपचार गर्न बाध्य भएका छन् ।

बैतडीको पाटन नगरपालिका ८ का ७० वर्षीय बिशा विष्टले डाक्टरहरूले शुरू गरेको आन्दोलनका कारण ६५ वर्षीया पत्नीको स्वास्थ्य जाँच गर्न नपाएको दुःखेसो पोखे । उनले भने- ‘वृद्ध पत्नीलाई उपचार गर्न बिहानैँ सेती अञ्चाल अस्पताल पुगेँ डक्टरले आन्दोलन गरेका कारण ओपीडी बन्द रहेछ । धेरै पैसा पनि छैन । अब के गरौँ ? नीजि अस्पतालमा भए पनि उपचार त गराउनै पर्‍यो ।’

चुहालम्की नगरपालिका- ५ अमौराकी ३६ वर्षीया जीवन चौधरीले पनि सेती अञ्चाल अस्पतालको ओपीडी सेवा बन्द भएका कारण १४ वर्षीया छोरी मिसा चौधरीको सिकलसेल जाँच गराउन नसकेको बताइन् ।

सरकारले चिकित्सक संघसँग गरेको सहमति विपरीत कर्मचारी समायोजन गरेपछि सेती अञ्चाल अस्पताललगायत यस क्षेत्रका अन्य सरकारी अस्पतालहरू चिकित्सक बिहिन हुने भएकोले त्यसकाविरुद्ध आफूहरू आन्दोलित हुनु परेको नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर प्रमोद जोशीले बताए । उनले भने –स्थानिय तह र प्रदेश स्तरमा जनसङ्ख्याको आधारमा कर्मचारी समायोजन गरिनु पर्छ । माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ ।

सेती अञ्चल अस्पतालमा दिनहुँ २ सय ५० जनादेखि ३ सय जनाको हाराहारीमा ओपिडी सेवा लिन आउने गरेका छन् ।

अन्य

भिडियो