०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइइ परीक्षामा केन्द्रीय कारागार सुन्धारा तथा डिल्लीबजार कारागार काठमाडौँबाट एक छात्रा सहित आठ जना सहभागी भएको इन्सेक काठामाडौँ प्रतिनिधि विमला पौडेलले जनाएकी छन् ।
केन्द्रीय कारागारका शाखा अधिकृत गोकर्ण खनालले केन्द्रीय कारागारका ६ जना छात्र र महिला कारागारमा रहेकी एक छात्राले कारागारभित्रै परिक्षा दिएको जानकारी दिए ।
पढ्न पाउने कैदी बन्दीहरूको अधिकार सुनिश्चित गर्न र जेललाई सुधार गृहका रूपमा विकास गर्न कारागारभित्र अध्ययन अध्यापन तथा परीक्षा केन्द्रको व्यवस्था गरिएको खनालले बताए ।
त्यस्तै डिल्लीबजार कारागारबाट एक जना छात्रले एसइइको परीक्षा दिएको कारागारका जेलर अरूण पोखरेलले बताए ।
एसइइ परीक्षाका लागि काठमाडौँमा ३७ हजार ५ सय २८ जना परीक्षार्थीहरूले फारम भरेता पनि जम्मा ३६ हजार ८ सय ८९ जना परीक्षार्थीहरू मध्ये छात्रतर्फ १९ हजार ६ सय ६८ जना र छात्रातर्फ १७ हजार २ सय २१ जना परीक्षामा सहभागी रहको काठमाडौँ शिक्षा कार्यालयका शिक्षा अधिकारी नन्दलाल पैडेलले जानकारी गराए ।
इन्सेक ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुुसार एसइइ परीक्षामा नख्खु कारागार ललितपुरबाट २४ जना कैदीबन्दीले परीक्षा दिएका छन् । परीक्षामा सहभागी भएकामा २३ जना कैदी र एक जना बन्दी रहेका छन् ।
पाटन माध्यमिक विद्यालयबाट खुल्ला फारम भरेका कैदी बन्दीहरूले कारागारमै परीक्षा दिन पाउँदा खुसी लागेको बताए । बलात्कार कसुरमा कैद सजाय भोगिरहेका ५० वर्षीय खिमे विष्टले जेल जीवनबाट केही सिक्न र सकरात्मक भाव सहितको जीवन बिताउन एसइइ परीक्षामा सहभागी भएको बताए ।
सरकारी नियम अनुसार आपूmले खुल्ला विद्यालय अन्तरर्गत पाटन माध्यमिक विद्यालयबाट परीक्षा फाराम भरेको बताउने ४३ वर्षीय सविन केसी मानव बेचबिखन अरोपमा कैद सजाय भागिरेका छन् । उनले आपूmले पढेर ज्ञान आर्जन गरी असल बाटो रोज्न चाहेको बताए ।
२४ वर्षीय पाल्देन तामाङले पढ्नु पर्ने चेतना जागृत भएपछि एसइइ परीक्षामा सहभागी भएको बताए । १९ वर्षीय विजय भुलुनले शिक्षा नलिएकै कारण आफूले गलत बाटो अँगालेको भएकाले सही बाटोमा अघि बढ्न पढेको बताए ।
ललितपुरबाट एसइइ परीक्षा दिने विद्यार्थी सङ्ख्या ९ हजार ९ सय ३४ रहेको शिक्षा विकास तथा समन्वय एकाई प्रमुख गुणराज पोखरेलले जनाए ।
त्यसमा साधारणतर्फ ९ हजार ८ सय २७, प्राविधिकतर्फ ८६ र ग्रेड वृद्धिका निम्ति २१ जनाले परीक्षा दिएका छन् ।
विगतका वर्षझैँ ३३ परीक्षा केन्द्र कायम गरिएको ललितपुरमा टिका विद्याश्रम माध्यमिक विद्यालय अन्तर्गत नख्खु कारागार परीक्षा केन्द्र रहेको टिका विद्याश्रमकी प्रधानाध्यापक विमला लामिछानेले बताइन् ।
एसइइ परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको टिका विद्याश्रम परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष एवम् नख्खु कारागार हेर्ने अशोक केसीले बताए ।
तीन ओटा ब्लकमा रहेको नख्खु कारागारले एक आर्थिक वर्षका लागि शिक्षक नाइके तोकिदिएको छ । उनीहरूलाई ललितपुर महानगरपालिका शिक्षा शाखाले मासिक ६ हजार २ सय रुपियाँका दरले पारिश्रमिक दिँदै आएको छ ।
उनीहरू मध्येका बलात्कार अरोपमा कैदी जीवन बिताइरहेका ४५ वर्षीय भरत कार्कीले एउटा ब्लकका कैदी बन्दीलाई पढाउँदै आएका छन् ।
त्यसैगरी लागु औषध कारोबारको आरोपमा कैद भोगिरहेका २६ वर्षीय जसवन्त राई, लागुऔषध कारोबारमै कैद भोगिरहेका ३७ वर्षीय बुद्ध गुरुङ पनि कारागारमा पढाउँछन् ।