जिल्ला सदरमुकाम फिदिम बजारमा दुई सातायता खानेपानी आपूर्ति नहुँदा जनजीवन कष्टकर भएको छ ।
फिदिम बृहत खानेपानीको लाइन टुटफुट भएपछि चैत ४ गतेदेखि बजारमा पानी वितरण हुन सकेको छैन । मुहानदेखि भण्डारण केन्द्रसम्म ल्याइएको पाइप लाइन मर्मत सम्भार नहुँदा समस्या आएको हो ।
पानी आपूर्ति नभएपछि माध्यमिक शिक्षा परीक्षामा सामेल भएकासहित अन्य तहमा अध्ययनरत विद्यार्थी, होटल व्यावसायी, विद्यालय सञ्चालक तथा सर्वसाधारणले खानेपानी र सरसफाईमा समस्या आएको बताएका छन् ।
पानी नआएपछि शैक्षिक संस्था नै बन्द गर्नु पर्ने अवस्था आएको बेविजोन मन्टेश्वरीका सञ्चालिका विमला सुब्बाले बताइन् । पानी अभाव भएपछि आएका ग्राहक समेत राख्न नसकिएको होटल व्यावसायी देउमाया लिम्बूले बताइन् ।
टुटफूट पाइपलाई समयमा मर्मत गर्न नसक्नु उक्त खानेपानी उपभोक्ता समितिको गैर जिम्मेवारीपन भएको स्थानीय राम लिम्बूले बताए ।
टुटफूट पाइपलाइन मर्मत गर्न समय लागेकाले पानी वितरणमा ढिलाई भएको सो खानेपानी उपभोक्ता समितिका अध्यक्ष गजाधर भट्टराईले बताए ।
“सुरुमा मर्मत गरेर पानी छाडियो । राम्रो सेट नभएकाले पुनः टुटफूट आयो ।”–उनले भने–“यसपालि अलि प्रभावकारी रूपमा मर्मत गरेका छौँ ।”
मर्मत कार्य सकिने बित्तकै पानी वितरण गरिने उनले जानकारी दिए । खानेपानी १६ किमि टाढाबाट ल्याइएकाले यस्ता समस्या आइरहने गरेको छ ।
फिदिम बजारमा खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारमार्फत योजना ल्याउने तयारी भइरहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।