INSEC Online

📅 २०८३ जेष्ठ २१

बैकल्पिक डाक्टरको व्यवस्था नहुँदै डाक्टर विदामा बसेपछि सेवाग्राही मर्कामा

बारेकोट गाउँपालिकामा रहेको लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबिबिएस डाक्टरको दरबन्दी रहेको भए पनि स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत डाक्टर सन्दीपकिरण प्रधान एमडीको अध्ययनका लागि बिदामा गएपछि प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन हुँदा बिरामीलाई समस्या भएको छ ।

६ महिनादेखि डाक्टर नहुँदा सो गाउँपालिका भित्रका बिरामी स्वास्थ्य उपचारबाट वञ्चित भई विरामी भएकाहरु उपचारका लागी धामी झाँक्रीको भर पर्नु पर्ने अबस्थामा रहेका छन् ।

दरबन्दी होल्ड गरेर डाक्टर अध्ययनका लागि बिदामा गएपछि सेवा प्रभावित भएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए ।

स्वास्थ्य सेवा विभागले डाक्टर प्रधानको अध्ययन बिदा स्वीकृति गरी वैकल्पिक व्यवस्था नगर्दा दर्गमका बासिन्दा उपचार सेवाबाट वञ्चित हुनु परेको अध्यक्ष शाहले गुनासो गरे ।

सामान्य उपचार सेवादेखि पोष्टमार्टम गर्नसम्म गाउँपालिकामा समस्या उत्पन्न भएको शाह बताउँछन् । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको दुई दशक यता डाक्टरको दरबन्दी कायम गरिएको भएपनि डाक्टर लामो समयसम्म स्वास्थ केन्द्रमै बसेर सेवा दिएको रेकर्ड प्राथमिक स्वास्थ्य केन्द्रको हाजिरी तथ्याङ्क बाट देखिन आएको गाउँपालिका अध्यक्ष शाहको गुनासो छ ।

दुर्गमका नागरिकलाई सेवा पु¥याउने उद्धेश्यले डाक्टरको दरबन्दी कायम गरिएको भएपनि बारेकोटबासीले कहिल्यै पनि स्तरीय सेवा नपाएको र सँधै भरी धामीझाँक्रीको भरमा पर्नु पर्ने बाध्यता रहेको र अहिले पनि कुनै लागेमा अस्पताल नगएर धामीझाँक्रीकोमा पुग्ने गरेको स्थानीय शिक्षक गोरखबहादुर सिंहले बताए ।

स्वास्थ्यचौकीमा नौ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा स्टाफ नर्स, अनमी र ल्याब असिस्टेन्ट पद पनि लामो गत कात्तिक महिना देखी रिक्त रहेको छ । आवश्यक उपकरणको व्यवस्था भएपनि दक्ष जनशक्ति नहुँदा ल्याब सेवा समेत सञ्चालनमा नरहेको स्थानीय मान बहादुर चलाउने बताउँछन् ।

जुम्ला र डोल्पा जिल्लासँग सिमाना जोडिएको सो गाउँपालिकाबाट सदरमुकाम खलङ्गा पुग्न दुईदिनको पैदल हिँड्नु पर्ने बाध्यता रहेको स्थानीयहरू बताउँछन् ।

स्वास्थ्य संस्थामा सामान्य रागका लागि पनि सहज र सरल रूपमा उपचार सेवा नपाउने भएपछि गाउँलेहरू धामीझाँक्रीकोमा जान बाध्य रहेको चलाउनेले बताए ।

गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक वीरराज सिंहले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर अध्ययन विदामा बसेपछि अर्को डाक्टरको व्यवस्था नगर्दा उपचार सेवा दिन समस्या भएको बताए ।

डाक्टर लगायतका दरबन्दी अनुसारका स्वास्थ्यकर्मीको तत्काल पदपुर्ति गर्न बारम्बार सम्बन्धित निकायमा पत्राचार गर्दा पनि सुनुवाइ नभएको सिंहले गुनासो गरे ।

डाक्टरले आफ्नो पेशागत वृत्ति विकास गर्न पाउने अधिकार भएपनि सरकारले वैकल्पिक व्यवस्था गरेर मात्र अध्ययन विदाको स्वीकृति दिनुपर्ने स्वास्थ्य संयोजक सिंह बताउँछन् ।

अन्य

भिडियो