INSEC Online

📅 २०८३ श्रावण ५

पाल्पा जिल्ला अदालत कार्यसम्पादनमा प्रदेशमै पहिलो

पाल्पा जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा न्याय सम्पादनतर्फ उल्लेखनीय सफलता हासिल गर्दै लुम्बिनी प्रदेशका जिल्ला अदालतमध्ये पहिलो तथा देशभर दोस्रो स्थान हासिल गरेको छ।

अदालतले आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार २ सय २२ मुद्दामध्ये ९ सय ८७ मुद्दा फैसला गर्दै ८०.७६ प्रतिशत मुद्दा फैसला गरेको जिल्ला न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायले जानकारी दिनुभयो। उहाँका अनुसार समयमै न्याय सम्पादनलाई प्राथमिकतामा राखेर गरिएको व्यवस्थापन, नियमित सुनुवाइ तथा कर्मचारीहरूको समन्वयका कारण यो उपलब्धि हासिल भएको हो।

जिल्ला न्यायाधीश उपाध्यायले न्यायमा हुने ढिलाइ नागरिकलाई न्यायबाट वञ्चित गर्नु सरह हुने भएकाले अदालतले छिटो, प्रभावकारी र परिणाममुखी न्याय सम्पादनलाई उच्च प्राथमिकता दिएको बताउनुभयो। उहाँले अदालतको कार्यशैलीमा सुधार, न्यायिक प्रक्रियाको व्यवस्थित सञ्चालन र सबै पक्षको समन्वयले सकारात्मक परिणाम दिएको उल्लेख गर्नुभयो।

अदालतका अनुसार हाल पाल्पा जिल्ला अदालतमा १८ महिनादेखि दुई वर्षसम्मका कुनै पनि पुराना मुद्दा बाँकी छैनन्। यसले वर्षौंदेखि थन्किने मुद्दाको प्रवृत्तिलाई अन्त्य गर्दै सेवाग्राहीले समयमै न्याय पाउने वातावरण निर्माण भएको संकेत गरेको अदालतको भनाइ छ।

अदालतका श्रेस्तेदार केशव पराजुलीले आर्थिक वर्षभर दर्ता भएका तथा जिम्मेवारी सरेका मुद्दासहित कुल १ हजार २ सय २२ मुद्दामध्ये ९ सय ८७ मुद्दा फैसला गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अदालतको मुद्दा फैसला ८०.७६ प्रतिशत पुगेको छ, जुन देशकै उत्कृष्टमध्ये एक हो।

देशभरका जिल्ला अदालतमध्ये कञ्चनपुर जिल्ला अदालत १ हजार ११ मुद्दा फैसला गर्दै पहिलो स्थानमा रहेको छ भने पाल्पा जिल्ला अदालत दोस्रो स्थानमा पुगेको हो। कञ्चनपुर जिल्ला अदालतमा जिल्ला न्यायाधीश राजेन्द्र सिंह भण्डारी कार्यरत हुनुहुन्छ।

जिल्ला न्यायाधिवक्ता चुरामणी पराजुलीले पाल्पा जिल्ला अदालतको उपलब्धिले सेवामुखी, उत्तरदायी र परिणाममुखी न्यायिक प्रशासनको उदाहरण प्रस्तुत गरेको बताउनुभयो। उहाँले सक्षम नेतृत्व, योजनाबद्ध कार्यशैली तथा कर्मचारीको समर्पण भए छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने अदालतले प्रमाणित गरेको उल्लेख गर्नुभयो।

यसैबीच, पाल्पा जिल्ला अदालतले सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ।

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो