INSEC Online

📅 २०८३ श्रावण ५

चिकित्सक अभावले जिल्ला अस्पतालमा रोकियो शल्यक्रिया सेवा

विशेषज्ञ चिकित्सकको अभाव भएपछि जिल्ला अस्पताल सल्यानमा शल्यक्रिया सेवा ०८३ साउन २ गतेदेखि रोकिएको छ। शल्यक्रिया सेवा बन्द भएपछि जिल्लाका विभिन्न पालिकाका स्वास्थ्य संस्थाबाट उपचारका लागि जिल्ला अस्पताल पठाइएका बिरामी नेपालगन्ज, सुर्खेत र दाङ जान बाध्य भएका छन्।

निम साइमन इन्स्टिच्युट (एनएसआई) बाट जेठ र असार गरी दुई महिनाका लागि काजमा आएका एमडीजीपी विशेषज्ञ चिकित्सक डा.रहिश कोजु र मेडिकल अधिकृत डा. सुमन यादवको काज अवधि सकिएसँगै उनीहरू फर्किएपछि अस्पतालमा शल्यक्रिया सेवा रोकिएको हो।

एनएसआईले सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत एक दशकदेखि विशेषज्ञ चिकित्सक उपलब्ध गराउँदै आएको थियो। त्यसबाट जिल्ला अस्पतालमा जटिल समस्या भएका गर्भवती महिलाको शल्यक्रियासहित अन्य विभिन्न प्रकारका शल्यक्रिया हुँदै आएका थिए। पछिल्लो समय डा. कोजु र डा. यादव आएपछि एपेन्डिक्स, हर्निया, हाइड्रोसिल तथा हाडजोर्नी भाँचिएका बिरामीको समेत शल्यक्रिया हुँदै आएको थियो।

शल्यक्रिया सेवा रोकिएपछि सेवाग्राही प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। विशेषगरी जटिल अवस्थाका गर्भवती महिलालाई उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने भएपछि बिरामीका आफन्तलाई थप आर्थिक भार परेको छ।

कालीमाटी गाउँपालिका–१ की पूर्णिमा बुढाले आफ्नी २५ वर्षीया बुहारी निर्मला बुढालाई शल्यक्रियाका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बीच बाटोबाटै फर्काएर प्रादेशिक अस्पताल तुलसीपुर लैजानुपरेको बताउनु भयो ।

‘जिल्ला अस्पताल आउँदा एम्बुलेन्समा जम्मा एक हजार रुपियाँ भाडा लाग्ने र तुलसीपुर लैजाँदा आठ हजार रुपैयाँ खर्च भएको उहाँको भनाई छ ।

त्यस्तै, बन्गाड कुपिण्डे नगरपालिका–९ का पिमलाल नेपाली १० वर्षीय छोराको हाइड्रोसिलको शल्यक्रिया गराउन नेपालगन्ज वा सुर्खेत लैजानुपर्ने भएपछि आर्थिक जोहो गर्न समस्या भएको बताउनुहुन्छ ।

एनएसआईले जिल्ला अस्पताल सल्यानमा सञ्चालन गरेको कार्यक्रम असारमा सकिएको र दुई महिनाका लागि काजमा आएका डा. कोजु र डा. यादवको काज अवधि पूरा भएपछि फर्किएका कारण विशेषज्ञ चिकित्सकको अभावमा शल्यक्रिया सेवा रोकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताउनु भयो ।

विशेषज्ञ चिकित्सकको व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकार र संघीय सरकारसँग माग गरिए पनि तत्काल चिकित्सक पठाउने सम्भावना नदेखिएपछि सेवा सञ्चालनबारे अन्योल भएको उहाँले जानकारी दिनु भयो।

उहाँका अनुसार शल्यक्रिया सेवा रोकिएपछि हालसम्म तीन जना बिरामीलाई अन्य अस्पतालमा रिफर गरिसकिएको छ। सेवा बन्द भएपछि जिल्लाका विभिन्न पालिकाका स्वास्थ्य संस्थाबाट जिल्ला अस्पतालमा पठाइएका बिरामी नेपालगन्ज, सुर्खेत र दाङका अस्पतालमा जान थालेका छन्।

जिल्ला अस्पताल सल्यानमा सामान्यतया एक महिनामा १० देखि १२ जना जटिल अवस्थाका गर्भवती महिलाको शल्यक्रिया हुने गरेको छ। पछिल्लो एक महिनामा हर्निया, एपेन्डिक्स, हाडजोर्नी र हाइड्रोसिलका गरी छ जना बिरामीको समेत शल्यक्रिया गरिएको डा. बुढामगरले बताउनु भयो।

२०४४ सालमा स्थापना भएको १५ शैय्याको जिल्ला अस्पताल हाल ४० बेड क्षमतामा सञ्चालन भइरहेको छ। अस्पतालमा दैनिक १ सय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन्।

रामचन्द्र रेग्मी

अन्य

भिडियो