INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा तीन वर्ष जेल सजायको फैसला

जिल्ला अदालत उदयपुरले पहिलो पटक वैवाहिक बलात्कार गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले चैत १० गते ३८ वर्षीया पत्नीलाई इच्छा विपरीत ४५ वर्षीय पतिले बलात्कार गरेको कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो ।

पत्नीको इच्छा, सहमति बेगर पतिले बलात्कार गरेको प्रमाण जुटेपछि उनलाई दण्डित गरिएको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।

मुलुकी ऐन जबरजस्ती करणीको महल ३ (६), मुलुकी अपराध ऐन २०७४ को दफा २१९ को उपदफा (४) मा व्यवस्था भए बमोजिम तीन वर्ष कैद सुनाइएको उनले बताए । ऐनमा यस्तो प्रकृतिको मुद्दामा पाँच वर्षसम्म कैद गर्ने व्यवस्था गरेको छ ।

शारीरिक अवस्था कमजोर रहँदासमेत ०७५ साउन २१ गते कसुरदारले पटक–पटक बलात्कार गरेको भन्दै पीडितले भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडितले निवेदन दिएको भोलिपल्ट भदौ ५ गते गिरफ्तार परेका कसुरदारलाई अदालतले भदौ ३१ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ५ गते जिल्ला अस्पतलामा गरिएको थियो । नयाँ संविधानले वैवाहिक बलात्कार भएमा पाँच वर्षसम्म जेल सजाय हुने व्यवस्था गरेपछि अदालतले पहिलोपटक यस्तो फैसला सुनाएको हो । अदालतमा वैवाहिक बलात्कारसम्बन्धी हालसम्म दुई ओटा मुद्दा दर्ता भई प्रक्रियामा रहेका छन् ।

अन्य

भिडियो