INSEC Online

📅 २०८३ असार २९

प्रादेशिक अस्पताल जलेश्वरमा विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा बिरामीहरु मर्कामा

नेपाल सरकारको निर्णयअनुसार ०७६ चैत २४ गते  जिल्ला अस्पताललाई प्रादेशिक अस्पताल जलेश्वरको रुपमा  स्तरोन्नति गरिएको भए पनि हालसम्म अस्पतालमा विशेषज्ञ रेडियोलोजिस्टको पदपूर्ति हुन सकेको छैन। विशेषज्ञ रेडियोलोजिस्टको अभावका कारण बिरामीहरू मर्कामा परेका छन् ।

उपचारका लागि आएका सम्सी गाउँपालिका–४ का २६ वर्षीय सन्तोष पण्डित भन्नुहुन्छ “चिप्लिएर लड्दा खुट्टामा गम्भीर चोट लागेको र विशेषज्ञ रेडियोलोजिस्टको अभावका कारण आवश्यक रेडियोलोजिकल परीक्षणका लागि निजी स्वास्थ्य संस्थामा जानुपरेको छ ।” सरकारी अस्पतालमै सेवा प्राप्त हुन नसक्दा उपचारमा अतिरिक्त आर्थिक भार थपिएको उहाँले गुनासो गर्नुभयो।

त्यस्तै, एकडारा गाउँपालिका–१ का २८ वर्षीय अमित मण्डलले आवश्यक रेडियोलोजी सेवा सहज रूपमा उपलब्ध नहुँदा आर्थिक अवस्था सबल भएका व्यक्तिले खर्च गरेर सेवा लिन सक्ने भए पनि दलित, विपन्न तथा न्यून आय भएका परिवारका लागि निकै कठिन हुने उहाँको भनाइ छ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. रवि श्रीवास्तवका अनुसार अस्पताल स्थापना भएदेखि नै विशेषज्ञ रेडियोलोजिस्ट उपलब्ध नभएकाले उहाँको स्थानमा एमडीजीपी चिकित्सकले आफ्नो कार्यक्षेत्रभित्र पर्ने सामान्य अल्ट्रासोनोग्राफी लगायतका आधारभूत रेडियोलोजी सेवा प्रदान गर्दै आएका छन्। तर विशेषज्ञ रेडियोलोजिस्टबाट गरिनुपर्ने जटिल रेडियोलोजिकल परीक्षण, इमेजिङको विशेषज्ञ व्याख्या तथा विशेष प्रकृतिका रोगहरूको मूल्याङ्कन अस्पतालमै गर्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो।

प्रादेशिक अस्पताल जलेश्वरको बहिरङ्ग (ओपिडी) सेवामा दैनिक २ सय जना बिरामी उपचारका लागि आउने गरेका छन्। आकस्मिक (इमर्जेन्सी) सेवामा दैनिक ४० देखि ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् भने इन्डोर सेवामा दैनिक करिब १० देखि १८ जना बिरामी भर्ना भई उपचाररत रहने गरेका छन्। बिरामीको चाप निरन्तर बढ्दै गए पनि विशेषज्ञ रेडियोलोजिस्टको अभावका कारण आवश्यक निदानात्मक सेवा पूर्ण रूपमा उपलब्ध गराउन नसकिएको भन्दै हाडजोर्नी  सम्बन्धी जटिल समस्या, विभिन्न प्रकारका ट्युमर, नरम तन्तुका रोग, जटिल पेटसम्बन्धी समस्या तथा विशेषज्ञ रेडियोलोजिकल मूल्याङ्कन आवश्यक पर्ने बिरामीलाई अन्य विशेषज्ञ अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ। यसका कारण बिरामीले अतिरिक्त आर्थिक भार व्यहोर्नुपरेको छ भने उपचार प्रक्रियामा समेत ढिलाइ हुने गरेको उहाँले बताए।

विशेषज्ञ रेडियोलोजिस्टको दरबन्दी पूर्तिका लागि प्रदेश सरकारसँग आवश्यक जनशक्ति उपलब्ध गराइदिन औपचारिक रूपमा माग गरिएको तथा यस विषयमा निरन्तर समन्वय भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार सबै सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकको माग उच्च रहे पनि उपलब्धता सीमित भएकाले पदपूर्तिमा चुनौती देखिएको छ। प्रादेशिक अस्पतालमा विशेषज्ञ रेडियोलोजिस्टको व्यवस्था भएमा बिरामीले स्थानीय स्तरमै गुणस्तरीय रेडियोलोजी तथा निदानात्मक सेवा प्राप्त गर्ने, अनावश्यक रेफरल घट्ने, उपचारमा हुने ढिलाइ कम हुने तथा समयमै सही निदान र उपचार सुनिश्चित गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो।

 सन्तोष कुमार यादव

अन्य

भिडियो