INSEC Online

📅 २०८३ असार ३१

प्रदेश अस्पतालमा रेविज विरुद्धको खोप अभाव

प्रदेश अस्पताल गोरखामा रेविज विरुद्धको खोप एक सातादेखि अभाव भएको छ । अस्पतालको फार्मेसीमा रेविज विरुद्धको खोप नपाएपछि बिरामी आफै निजी मेडिकलमा पुगेर खोप खरिद गर्ने गरेका छन् । बिरालोले टोकेपछि प्रदेश अस्पताल गोरखामा आएका गोरखा नगरपालिका–६ का सुकबहादुर बसेलले असार २४ गते निजी मेडिकलमा ६ सय रुपियाँमा खोप खरिद गरेर खोप लगाए । ‘अस्पतालको फार्मेसीमा खोप छैन भनेपछि नजिकैको मेडिकलबाट ल्याएर अस्पतालकै डाक्टरलाई खोप लगाउन लगाएँ,’ उनले भने । अस्पतालमा दैनिक दुईदेखि तीन जना बिरामी रेविज विरुद्धको खोप लगाउन आउने गरेका छन् । तर खोप अभाव हुँदा बिरामीलाई समस्या पर्दै आएको छ । पछिल्लो समय एक साता यता अस्पतालमा खोप अभाव भएको प्रदेश अस्पताल गोरखाका निमिक्त प्रमुख मेडिकल सुृपरिटेन्डेण्ट शम्भु अधिकारीले बताउनु भयो ।

निःशुल्क उपलब्ध गराउने रेविज विरुद्धको खोप अस्पताल आफैले टेण्डर गरेर खरिद गर्न नमिल्ने भएकाले सँधैजसो अभाव हुने गरेको अधिकारीले बताउनु भयो । प्रदेश अस्पताल गोरखालाई गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय अन्तरगतको आपूर्ती केन्द्रले पठाउने गरेको छ । प्रदेशबाट आवश्यक भन्दा कम खोप आउँदा अभाव हुने गरेको समेत अधिकारीले बताउनु भयो ।

रेविज विरुद्धको खोप लगाउन मासिक २० देखि २५ जनासम्म बिरामी गोरखा अस्पताल आउने गरेको सुपरिटेन्डेण्ट अधिकारीले बताउनु भयो । कुुकुर र बिरालोले टोकेर धेरैजसो बिरामी रेविज विरुद्धको खोप लगाउन आउने गरेका छन् ।

हरिराम उप्रेती

अन्य

भिडियो