INSEC Online

📅 २०८३ असार २५

स्वास्थ्यकर्मीलाई कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

टिकापुर प्रादेशिक अस्पताल, टिकापुरका प्रयोगशाला इन्चार्ज उमेशप्रसाद बजगाईलाई ०८३ असार २३ गते कुटपिट गरेको आरोपमा सोही अस्पतालको फिजियोथेरापी शाखामा कार्यरत कर्मचारी अनिलकुमार तिवारीविरुद्ध पीडित पक्षले असार २४ इलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिएको छ ।

पीडित बजगाईलाई आरोपित तिवारीले अस्पताल भित्रै कुटपिट गरेको सिसिटिभि भिडियो सामाजिक सञ्जालमार्फत भाइरल भएपछि पीडित पक्षले इलाका प्रहरी कार्यालय, टिकापुरमा असार २४ गते उजुरी दिनुभएको टिकापुर अस्पतालका सूचना अधिकारी पदमराज भट्टले बताउनु भयो ।

व्यक्तिगत रीसीइवीका कारण विवाद भएको भए पनि विवादको मुख्य कारण भने आफूलाई थाहा नभएको उहाँको भनाइ छ ।

आरोपित तिवारीले पटक—पटक अस्पताल भित्र भाँडभैलो मच्चाउने गरेको, अस्पतालमा अतिरिक्त कार्य गर्नेहरुलाई दुःख दिने गरेकोले यस प्रकारको कार्यहरु रोक्न सल्लाह दिँदा आफूमाथि कुटपिट गरिएको पीडित प्रयोगशालाका इन्चार्ज बजगाईले बताउनु भयो ।

जनकपुरबाट दैनिक ज्यालादारी करार सम्झौतामा फिजियोथेरापी कर्मचारीको रुपमा अस्पतालमा ल्याएदेखि नै अस्पताल व्यवस्थापन समितिका अध्यक्षको आडमा आरोपित तिवारीले कर्मचारीहरुलाई दुःख दिँदै आएको कारण आरोपितविरुद्ध उजुरी दिँदा प्रहरीले उजुरी समेत लिन नमानेको इन्चार्ज बजगाईको आरोप छ ।

इलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी प्रकाश डाँगीले आफू अन्य कार्यमा व्यस्त भएकाले हाल घटनाको बारेमा अहिले कुनै जानकारी गराउन नसक्ने इन्सेक कैलाली प्रतिनिधिसँगको फोन सम्पर्कमा बनाउनु भयो ।

मैनामोती चौधरी

अन्य

भिडियो