हिलिहाङ गाउँपालिका–१ का ३१ वर्षीय सन्देश राईको उपचारका क्रममा ०८३ असार २४ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
जिल्ला कारागार कार्यालय, पाँचथरका थुनुवा राई बिरामी भएपछि थप उपचारका लागि असार १८ गते कोशी अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा राईको असार २४ गते मृत्यु भएको कारागार कार्यालय मोरङका प्रशासक राजन घिमिरेले बताउनु भयो । मोरङ कारागारका प्रशासक घिमिरेले मृतक राई पाँचथर कारागारकै थुनुवा हुन, उपचारका लागि कोशी अस्पताल भर्ना गरिएपछि सुरक्षाको जिम्मा मोरङ कारागारले लिएको बताउनु भयो ।
कर्तव्य ज्यान मुद्दाका राईलाई पाँचथर जिल्ला अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न ०८२ मंसिर ७ गते आदेश दिएको थियो । अदालतको आदेशसँगै जिल्ला कारागार पाँचथरमा राखिएका उनी बिरामी परेपछि जिल्ला अस्पताल फिदिममा उपचार गराइएको थियो ।
फिदिममा सम्भव नभएपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको थियो । विराटनगर ल्याएर ०८३ असार १८ गते कोशी अस्पताल भर्ना गरिएको थियो ।
मृतक राई मुटु, मृगौला र फोक्सोको दीर्घ रोगी रहेको कारागार प्रशासक राजन घिमिरेले बताउनु भयो ।
राईको मृत्युको जानकारी पीडित परिवारलाई दिएको कारागार प्रशासनले जनाएको छ । मोरङ कारागारका प्रशासक घिमिरेले राईको शव पाँचथर कारागारलाई नै जिम्मा लगाइएको र बाँकी प्रक्रिया पाँचथरबाट नै हुने बताउनु भयो । पीडित परिवारले असार २५ गते शव बुझेर सद्गत गर्ने भएका छन् ।