१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २४ वर्षीय शम्भु साह, राजविराज नपा–८ का २८ वर्षीय नविन दत्त र राजविराज नपा–९ का २१ वर्षीय फुदिन खानलाई जिल्ला अदालतले फागुन २९ गते १३ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश उमेश कोइरालाको इजलासले आरोपितहरुलाई बलात्कारको कसुरमा आठ र सामूहिक बलात्कारको कसुरमा थप पाँच वर्ष गरी १३ वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।
आरोपितहरुसहित राजविराज नपा–५ (हाल राजविराज नपा–८) का २५ वर्षीय कमल भनिने कमलकिशोर साह, नर्घो गाविस–९ (हाल राजगढ गापा–३) का २० वर्षीय दिपेशकुमार यादव, तेरहौता गाविस–३ (रुपनी गापा–६) का २५ वर्षीय जितेन्द्र मण्डल खंग र सुनसरीको सतेरझोरा गाविस–२ (गढी गापा–६) का १८ वर्षीय दिपक खेरवार यादवले ०७१ चैत १३ गते राजविराज नपा–५ (हाल राजविराज नपा–८) स्थित भुपेन्द्र यादवको घरमा डेरा गरी बस्ने अमरकुमार यादवको कोठामा सामूहिक बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएकी थिइन् ।
आरोपितहरुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७१ चैत २४ गते जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल र मोरङ जिल्लास्थित विराटनगरमा उपचार गराएकी पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित अञ्चल अस्पतालमा ०७१ चैत १३ गते गरिएको थियो ।
आरोपितहरुमध्ये जितेन्द्र र दिपकलाई प्रहरीले ०७१ चैत २५ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेशमा आरोपित जितेन्द्र ०७२ वैशाख २४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए भने दिपक सोही दिन साधारण तारेखमा रिहा भएका थिए ।
आरोपितहरुमध्ये शम्भु, नविन, फुदिन, कमलकिशोर र दिपेशलाई सोही दिन वारेण्ट पूर्जी जारी गरिएको थियो ।
जिल्ला अदालतको आदेशमा वैशाख २४ गते साधारण तारेखमा रिहा भएका दिपक पुनरावेदन अदालतले जेठ २८ गते थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएपछि फरार थिए ।
आरोपित कमलकिशोर साहलाई राजविराज नपा–५ (हाल राजविराज नपा–८) बाट प्रहरीले ०७२ फागुन १८ गते राति गिरफ्तार गरेको थियो ।
आरोपितमध्ये जिल्ला अदालतलको इजलासमा जितेन्द्र, दिपक र कमलकिशोरले ०७३ जेठ २४ गते अभियोग दावीबाट सफाई पाएका थिए भने शम्भु, नविन, फुदिन र दिपेशको हकमा मुद्दा मुल्तवी राखी दिने ठहरी अंश रोक्काको फैसला भएको थियो ।
जिल्ला अदालतमा ०७३ पुस ८ गते हाजिर भएका शम्भु र नबिन तथा ०७४ वैशाख ५ गते हाजिर भएका फुदिनलाई हाजिर भएकै मितिमा जिल्ला अदालतले जनही ४० हजार धरौटी राखी तारेखमा रिहा गरेको थियो ।
सो आदेश बेरितको भएको भन्दै बदर गरी थुनामा राखी कारवाही गर्न माग गर्दै जिल्ला न्यायाधिवक्ताको कार्यालयले ०७५ असार ५ गते अदालती बन्दोबस्तको १७ नम्बर बमोजिम दिएको निवेदनमा उच्च अदालत जनकपुर राजविराज इजलाशले ०७५ कात्तिक १५ गते पुर्पक्षका लागि थुनामा राखी कारवाही गर्न आदेश गरेपछि प्रहरीले शम्भु र नविनलाई ०७५ मंसिर ३ गते गिरफ्तार गरी पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो ।
०७५ मङ्सिर ९ गतेको तारेख गुजारेका फुदिन ०७५ पुस ८ गते अदालतमा हाजिर भएपछि उनी पनि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
पुर्पक्षका लागि थुनामा रहेका शम्भु, नविन र फुदिनका हकमा जिल्ला अदालतबाट १३ वर्ष कैद सजायको फैसला भएको अधिवक्ता गिरीशचन्द्र झाले बताए ।