५४ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा दलित समुदायका व्यक्तिहरूले जातीय विभेद कायमै रहेकको र आफूहरू सहन बाध्य भएको दुखेसो पोखेका छन् ।
चैत ७ गते जिल्ला सदरमुकाम गढीमा नागरिक समाज लगायतका विभिन्न सङ्घसंस्थाहरूले आयोजना गरेको दिवसमा सहभागी दलित समुदायका अगुवाहरूले यस्तो गुनासो गरेका हुन् ।
उनीहरूले जातीय बिभेदविरूद्ध आवज उठाउँदा समाजमा नै बस्न नसकिने अवस्था रहेकाले आफूहरू जातीय छुवाछुत तथा विभेद सहन बाध्य भएको बताएका थिए ।
“अझै पनि गाउँमा हामीहरूले सहभागी भएको बैठक तथा कार्यक्रमहरूमा गैरदलितहरूले पानी तथा चिया खाँदैनन् । सधैँ चिया खाने मान्छेले पनि दलितले चिया ल्याउँदा आफूले चिया छोडेको वा ग्यास्टिक छ भरेर जबाफ दिन्छन् ।”–दशरथचन्द नगरपालिका–४ की दलित महिला सदस्य पार्वती भुलले भनिन् ।
“हरेक काम तथा दुःख पर्दा गैरदलित समुदायका व्यक्तिहरूबाट रिनदान गर्नु पर्ने भएकाले पनि उनीहरू विरूद्ध खुलेर बोल्न सक्दैनौँ । आफूले पालेका गाईभैंसीको दुध समेत बजारमा विक्री हुँदैन ।”–दशरथचन्द नगरपालिका–३ की हरू सार्कीले भनिन् ।
गाउँमा भएका मन्दिरहरू प्रवेश निषेध गरिने गरिएको दशरथचन्द नगरपालिका–९ का प्रेम दयालले दुखेसो पोखे ।
उनले भने–“मन्दिरका धामीहरूले पनि दलित समुदायका व्यक्तिलाई तुच्छ भाषा प्रयोग गर्छन । सडेको कुहिएको वस्तुलाई प्रयोग हुने शब्द प्रयोग गरिन्छ । हामीलाई टाढैबाट नछोइकन चामलका दाना प्रसादको रूपमा दिइन्छ ।”
जिल्लाका अधिकांश हलियाहरूको तथ्याङ्कमा समेत समावेश नगरिएको कार्यदलका केन्द्रिय सदस्य राजुराम भुलले बताए ।
उनले भने–“लोकसेवाबाट नायब सुब्ब पास गरी सुर्नया गाउँपालिकामा खटाइएका एक दलित कर्मचारीलाई दलित भएकै कारण त्यहाँ बस्न समेत दिइएको छैन ।”
प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जिल्लामा जातीय विभेद भएको धेरै सुनिने गरिएको भएपनि ती घटनाहरू कानुनी प्रक्रियामा आउन नसकेको बताए ।
सुदूरपश्चिम प्रदेशका सांसद लीलाधर भट्टले दलित समुदायका व्यक्तिहरूले आफूमाथि विभेद भएको सहने परिपाटीले विभेदलाई झन् प्रश्रय दिएको बताए । तुलनात्मक रूपमा जातीय विभेदका घटनामा भने कमी आएको भट्टको भनाई छ ।