INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण घटनाका आरोपित गिरफ्तार

नेपाली कांग्रेसका कार्यकर्ता डाकनेश्वरी नपा–१ का ३२ वर्षीय जियाउल हकको अपहरण गर्न खोजेको आरोपमा प्रहरीले खडग नपा–११ बनौली घर भई हाल डाकनेश्वरी नपा–१ बस्ने ५१ वर्षीय मलाबकस मियाँ र डाकनेश्वरी नपा–१ का ५० वर्षीय रासलाल साहविरुद्ध चैत ५ गते अपहरण तथा शरिर बन्धकको उजुरी दर्ता गरेको छ ।

घटना लगत्तै शंकास्पद चार जनालाई गिरफ्तार गरी सोधपुछ गरेको सप्तरी प्रहरीले अनुसन्धानपश्चात मियाँ र साह विरुद्ध उजुरी दर्ता गरी कारवाही थालेको हो ।

हतियारसहितका अपहरणकारीहरुले मुखमा नकाब लगाएकाले पहिचान गर्न नसकिएको बताएका हकले दुई महिनाअघि उपभोक्ता समितिको विवादका कारण अपहरणको प्रयास भएको दावी गरेका छन् ।

जियाउलले ५ लाख रुपियाँ बजेट रहेको वडा नम्बर १ स्थित मधुबनी बस्ती विद्युत उपभोक्ता समितिको अध्यक्ष भएर काम गरेका थिए ।

बोदे बर्साइन नपा–५ स्थित जिया फेशन सेन्टरका सन्चालक समेत रहेका हक पसल बन्द गरी स.८ प ७४७० नम्बरको मोटरसाइकल चढी घर फर्कने क्रममा बाटोबाटै गत फागुन २५ गते राति उनी अपहरणमा परेका थिए ।

पीडितले फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा गिरफ्तार भएका आरोपितसहित आठ जनाविरुद्ध उजुरी दिएका थिए ।

हतियारसहित नकाब लगाएका ८÷१० जनाले कुटपिट गर्दै कमिज र गम्छाले हात बाँधी मोटरसाइकलको बीचमा राखी डाकनेश्वरीको हटेल हुँदै भारतको लौकहीतर्फ लैजान लागेको बेला सिमा सुरक्षा बलका भारतीय प्रहरीले रोकी सोधपुछ गर्न थालेपछि अपहरणकारीहरु फरार भएको र आफ्नो ज्यान जोगिएको हकले बताए ।

सो कुराको पुष्टि सिमा सुरक्षा बलका भारतीय प्रहरीले समेत गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए ।

अपहरणकारीहरुको कुटपिटबाट घाइते भएका हकको पिठ्युभरी निलडाम लागेको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराएका हकको हाल न्युरो अस्पताल विराटनगरको उपचार भइरहेको छ ।

अन्य

भिडियो