तिलाठी कोइलाडी गाउँपालिका–६ की २३ वर्षीया पार्वती कुमारी मण्डललाई जेठ २२ गते सखुवाको खम्बामा बाँधेर कुटपिट तथा अमानवीय व्यवहार गरेको भन्दै जेठाजु ४५ वर्षीय प्रकाश मण्डल, जेठानी ३५ वर्षीया ललिता मण्डल, छिमेकी ३८ वर्षीय दिलिप मण्डल, ४५ वर्षीया इन्द्रमाया देवी मण्डल, ६५ वर्षीय रामलखन मण्डल, ३० वर्षीय नितेश मण्डललविरुद्ध पीडितले जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
आफू गरिब तथा विपन्न रहेको कारण न्यायिक प्रक्रियामा सहयोगका लागि इन्सेक सप्तरी प्रतिनिधि मार्फत मधेस प्रदेश कार्यालयमा पीडितले असार ८ गते निवेदन दिनु भएको छ ।
जेठाजू प्रकाशले ७५ वर्षीय ससुरा रामचन्द्र मण्डलसँग जग्गा जमिन बाँडफाँडको विषयमा विवाद भएपछि उनलाई मानसिक बिरामी रहेको भन्दै जेठ २१ गते सिरहा जिल्ला धनगढीमाई नगरपालिका–११ छपरारीस्थित सुधार केन्द्रमा बन्धक शैलीमा लगेको घटनाको प्रतिकार गर्न खोज्दा आफूलाई अमानवीय व्यवहार गर्दै कुटपिट गरिएको पीडित पार्वती कुमारीले बताउनु भयो । पीडितको उपचार जिल्ला अस्पताल राजविराजमा असार २५ गते भएको छ ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्काले बताउनु भयो । ससुरा मानसिक रुपमा स्वस्थ रहेको हुँदा सुधार केन्द्रबाट घर ल्याउन पहल गरिदिनुहुन इन्सेक सप्तरी प्रतिनिधिलाई पीडित पार्वती कुमारीले आग्रह गरेकी छिन् ।