डेढ वर्षदेखि अपाङ्गताको परिचयपत्र नपाउँदा विभिन्न अवसरबाट वञ्चित भएको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् ।
विगतमा महिला तथा बालबालिका कार्यालयबाट दिइने गरिएको यस्तो परिचयपत्र कार्यालय खारेज भएसँगै वितरण रोकिएको डेढ वर्ष पुगिसकेको छ ।
जिल्लाका सात ओटै गाउँपालिकाका १ सय ७ जना अपाङ्गता भएका व्यक्तिले अपाङ्गताको परिचयपत्र नपाउँदा सामाजिक सुरक्षा भत्ता तथा रोजगारीको अवसरबाट वञ्चित भएको गुनासो गरेका हुन् ।
स्थानीय तहबाट वितरण हुने परिचयपत्र कानुन र प्रणाली नबन्दा वितरण गर्न नसकेको भनी गाउँपालिकाबाट प्रतिक्रिया आउने गरेको सिमकोट गाउँपालिका–८ का जोगीरी शाहीले बताए ।
सो कार्यालय खारेजी भएपछि अपाङ्गता भएका व्यक्ति मर्कामा परेको चंखेली गाउँपालिका–२ का विकास बुढाले बताए ।
अपाङ्गता भएका बालबालिकासँग लामो समयदेखि काम गर्दै आएको हेड नेपाल र साहारा समूह विद्यालयमा पठनपाठन गर्दै आएका करिब ८० जना बालबालिका पनि सो परिचयपत्र पाउनबाट वञ्चित भएको साहारा समूहका निर्देशक सूर्य पौडेलले जानकारी दिए ।
अदानचुली गाउँपालिका–३ की भरूनी ऐडी विगतमा परिचयपत्र पाएकाले सेवा सुविधा उपभोग गरिरहेको भएपनि नयाँ परिचयपत्र पाउने व्यक्तिलाई समस्या भएको बताउँछिन् । परिचयपत्र वितरण नहुँदा विभिन्न रोजगारीमा कोटामा फारम भर्न नसकिएको ऐडीको गुनासो छ ।
सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले अपाङ्गता भएका व्यक्तिका लागि परिचयपत्र वितरण गर्ने कार्यन्वयन विधि केन्द्रबाट नै पारित भएर नआएकोले यस्तो समस्या आएको बताए ।
तत्काल यो समस्या समधानका लागि सातओटै गाउँपालिकाका अध्यक्ष र अधिकृत बसेर छलफल गरी अपाङ्गता परिचयपत्र वितरण गर्ने कार्य ढिलाई भएपनि वर्ग पहिचान गरेरमात्र तथ्याङ्क राखेर वितरण हुने बताए ।