सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रवाह गर्न सरकारी निकायबाट स्थापना भएका जिल्लाका सबै स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सर्वसाधरण स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ ।
छाँयानाथ रारा नगरपालिकामा–५, मुगुम कार्मारोङ्ग–५, सोरु–७ र खत्याड गाँउपालिकामा सात ओटा स्वास्थ्यचौकी, एक प्रथामिक सेवा केन्द्र र जिल्ला सदरमुकाममा १५ शैयाको जिल्ला अस्पताल रहेका छन् ।
स्वास्थ्य संस्था अपायक भएका केही ग्रामीण बस्तिका लागि सामुदायिक स्वास्थ्य एकाईको पनि व्यवस्था गरिएको छ । सबै स्वास्थ्य चौकीमा औषधि अभाव रहेको सेवाग्राहीको आरोप छ ।
छाँयानाथ रारा नगरपालिका–१ मा रहेको गम स्वास्थ्य चौकीमा औषधि शुन्य रहेको तथा हेल्थपोष्टका स्वास्थ्यकर्मीहरु घाम तापेर दिन बिताउने गरिरहेका सोही नगरपालिका–१ का स्थानीयवासी पदमराज मल्लले आरोप लगाए ।
स्वास्थ्य चौकीमा औषधि अभाव भएको विषयमा वडाका जन प्रतिनिधिहरुलाई जानकारी गराई आवश्यक औषधिका लागि पहल गर्न अनुरोध गरे पनि बेवास्ता गरेको मल्लले बताए ।
आफनो वडामा रहेको स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि नगरपालिकालाई औषधिको व्यवस्था गरिदिन अनुरोध गरिएको भएपनिे नगरपालिकाले औषधिको व्यवस्था नगर्दा स्वास्थ्य चौकीमा औषधि अभाव हुँदै आएको छाँयानाथ रारा नगरपालिका–१ वडा अध्यक्ष लोकबहादुर हितानले बताए ।
प्रसूति गृह रहेको यस स्वास्थ्य चौकीमा सिटामोल, जीवनजल बाहेक अरु औषधि नरहेको स्वास्थ्य चौकीका अहेव सत्यबहादुर मल्लले जानकारी दिए ।
सोही नगरपालिकाका–१४ बाम स्वास्थ्य चौकीमा पनि औषधि अभाव छ । स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि नभएपछि फेज नेपाल नामक गैरसरकारी संस्थाले बाम स्वास्थ्य चौकीलाई औषधि सहयोग गरेको छ ।
फेज नेपालले सहयोग गरेपछि स्वास्थ्य केन्द्रमा पुगेर औषधि उपचार गर्न पाएको स्थानीय जुनबहादुर खड्काले बताए ।
खत्याड गाउँपालिका–८ मा रहेको आम स्वास्थ्य चौकीमा पनि एक महिना यता औषधि अभाव रहेको छ ।
यो स्वास्थ्य चौकीमा बाजुरा जिल्लाको हिमाली गाउँपालिकाका स्थानीयवासी समेत स्वास्थ्य सेवा लिन आउने गरेका छन् ।
अहिले स्वास्थ्य चौकीमा सिटामोल समेत न्यून रहेको स्वास्थ्य चौकीले जनाएको छ । एक महिनादेखि एमोक्ससिलिन, बुस्कोपान, एसिलक समेतको औषधि छैन भने आकास्मिक रुपमा आवश्यक पर्ने औषधि समेत अभाव भएको स्वास्थ्य चौकीका इञ्चार्ज विरबहादुर कार्कीले जानकारी दिए ।