सदरमुकाम मन्थलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स पाँच वषदेखि बिग्रिएर थन्किएको छ । सरकारी स्वास्थ्य केन्द्रको एम्बुलेन्स पाँच वर्षदेखि बिग्रिएर थन्कँदा बिरामीहरु निजी अस्पताल र विभिन्न संस्थाका महंगा एम्बुलेन्सको प्रयोग गर्न बाध्य छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई भारतीय दुतावासले सात वर्षअघि एउटा एम्बुलेन्स उपलब्ध गराएको थियो । सो एम्बुलेन्स करिब दुई वर्ष सञ्चालनमा आएपछि बिग्रिएर थन्क्याइएको हो । प्राथमिक स्वास्थ्य केन्द्रको बाहिर एम्बुलेन्स बिग्रिएको अवस्थामा राखिएको छ ।
बिग्रिएको एम्बुलेन्स समयमा नै मर्मत नगर्दा प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेको छ । बारम्बार बिग्रने गरेपछि एम्बुलेन्स मर्मत नगरेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका स्वास्थ्यकर्मी भरतकुमार श्रेष्ठले बताए ।
एम्बुलेन्स नहुँदा बिरामीलाई स्वास्थ्य केन्द्रमा ल्याउन लैजान समस्या भएपछि प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य मन्त्रालय तथा भारतीय दुतावासमा समेत एम्बुलेन्स माग गरी अनुरोध गरेको भए पनि हालसम्म एम्बुलेन्स प्राप्त नगरेको श्रेष्ठले बताए ।
बिरामीहरु ओसार्ने आफ्नै एम्बुलेन्स नहुँदा अन्य संस्थाहरुको एम्बुलेन्सबाट बिरामीहरु ल्याउने लैजाने गरेको उनले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्र मन्थली रामेछाप जिल्लकै एकमात्र सर्जरी सहितको सुत्केरी सेवा प्रदान गर्ने स्वास्थ्य संस्था हो ।
यस्तो स्वास्थ्य संस्थामा समेत एम्बुलेन्स नहुँदा बिरामीहरुलाई सेवा लिनसमेत समस्या परेको छ ।