१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सप्तरी जिल्ला शम्भुनाथ नगरपालिका–७ घर भई हाल गोलबजार नपा–६ डेरा गरी बस्ने ४२ वर्षीय गङ्गाई पासवानलाई जिल्ला अदालतले फागुन २९ गते ६ वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश केदारनाथ पौडेलको इजलासले सो फैसला गरेको सरकारी वकिल एकराज अधिकारीले बताए । सरकारी वकिल अधिकारीका अनुसार पीडितलाई २५ हजार रुपियाँ क्षतिपुर्ति भराउने समेत फैसला भएको बताए ।
०७३ भदौ २५ गते आरोपितले बालिकालाई बलात्कार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय गोलबजारमा भदौ २६ गते उजुरी दिएकी थिइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ २६ गते भएको थियो । इलाका प्रहरी कार्यालय गोलबजारले आरोपितलाई भदौ २६ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित असोज १४ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।