INSEC Online

📅 २०८३ असार ११

पेशागत सुरक्षाको माग गर्दै कृषि तथा पशु प्राविधिकको अनिश्चितकालीन धर्ना

लुम्बिनी प्रदेशका स्थानीय तहमा करार सेवामा कार्यरत कृषि तथा पशु सेवा प्राविधिकहरूले पेशागत सुरक्षा तथा सेवा–सुविधाको सुनिश्चितताको माग गर्दै प्रदेशको प्रशासनिक केन्द्र भालुवाङमा अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।

कृषि तथा पशु सेवा प्राविधिक छनोट सम्बन्धी कार्यविधि–२०७८ अनुसार विभिन्न पालिकामा करारमा नियुक्त भई कार्यरत प्राविधिकहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेशसभा परिसरको मूल गेट अगाडि जेठ २६ गतेदेखि धर्ना सुरु गरेका हुन् ।

आन्दोलनरत प्राविधिकहरूले चाडपर्व खर्च, पोसाक भत्ता, बिदा, सामाजिक सुरक्षा कोषमा आबद्धता, समान तहका स्थायी कर्मचारीसरह तलब तथा सुविधा, श्रम अधिकारको सुनिश्चितता र आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी सेवामा जाने व्यवस्था गर्न माग गरेका छन् । साथै, विगतदेखि कार्यरत करार कर्मचारीलाई प्राथमिकता दिनुपर्ने, बिना कारण करार अवधि अन्त्य गर्न नपाइने तथा अस्थायी दरबन्दी सिर्जना वा दरबन्दी मिलानको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारेका छन् ।

संघर्ष समितिका संयोजक प्रकाश केसीले आफूहरू कृषकका समस्या समाधानका लागि अग्रपंक्तिमा रहेर काम गर्दै आएको भए पनि न्यूनतम सेवा–सुविधाबाट समेत वञ्चित हुनुपरेको र अहिले कामबाटै हटाउने प्रयास भइरहेकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताउनुभयो ।

धर्ना सुरु गर्नुअघि प्राविधिकहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय तथा आर्थिक मामिला तथा योजना मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका थिए ।

यसैबीच, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले प्रदेश सरकारको करार प्राविधिकहरूलाई हटाउने कुनै योजना नभएको स्पष्ट पार्नुभएको छ । उहाँले केन्द्र सरकारबाट करार सम्झौता नगर्न परिपत्र जारी भएपछि समस्या उत्पन्न भएको बताउनुभयो ।

जयनारायण पुन

अन्य

भिडियो