INSEC Online

📅 २०८३ असार ११

थुनुवा भेटघाटका लागि समय खुकुलो

प्रहरी हिरासतमा रहेका थुनुवा भेटघाटका लागि आउने परिवारजन, आफन्तजन वा अधिकारकर्मीका लागि समय खुकुलो बनाएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी अनिशकुमार कर्णले सुरक्षा तथा हिरासत व्यवस्थापनसम्बन्धी आवश्यक मापदण्ड पूरा गरी हिरासतमा रहेका थुनुवालाई भेट्ने समय ०८३ जेठ २५ गतेदेखि सहज बनाइएको बताउनु भयो ।

यसअघि थुनुवा भेटघाटका लागि बिहान ७ बजेदेखि ९ बजेसम्म र अपराह्न ३ बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरिएकोमा नयाँ व्यवस्था अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजे सम्मको समयमा हिरासतमा रहेकाहरुलाई भेटघाट गर्न सकिने व्यवस्था लागू गरिएको डिएसपी कर्णले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले हिरासतमा रहेका थुनुवाहरूसँगको भेटघाट व्यवस्थालाई थप सरल र सहज बनाएपछि हिरासत कक्षमा रहेका दाजुलाई बिहान १० बजेपछिको समयमा भेट गरेको  फिदिम नगरपालिका- २ साम्दिनका ३९ वर्षीय मनकुमार तुम्बापोले बताउनु भयो । उहाँले पहिले बिहानको ९ बजेभित्र भेटी सक्नु पर्ने अवस्था रहेकोमा अहिले पनि १० बजेपछि पनि भेट गर्न पाएको बताउनु भयो ।

नागरिकमैत्री सेवा प्रवाह, मानव अधिकारको संरक्षण र हिरासत व्यवस्थापनलाई उत्तरदायी बनाउने उद्देश्यले थुनुवा भेटघाटमा खुकुलो बनाइएको अनिशकुमार कर्णले बताउनु भयो ।

सुरक्षा तथा हिरासत व्यवस्थापनसम्बन्धी आवश्यक मापदण्ड पूरा गरी थुनुवाका परिवारजन, आफन्त, कानुनी प्रतिनिधि, मानव अधिकारकर्मी तथा अन्य सरोकारवालाले कार्यालय समयमा थुनुवासँग भेटघाट गर्न सक्ने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अवदेश कुमार यादवले बताउनु भयो ।

थुनुवा भेट्ने समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बनाइएपछि दूरदराजबाट आउने सेवाग्राही, दैनिक रोजगारीमा संलग्न नागरिक, आकस्मिक रूपमा जिल्लाबाहिरबाट आउने परिवारजन तथा कानुनी सहायता प्रदान गर्ने निकायलाई सहज भएको इन्स्पेक्टर यादवले बताउनु भयो ।

थुनुवा भेटघाटका क्रममा आगन्तुकले आफ्नो परिचय खुल्ने कागजात प्रस्तुत गर्नुपर्ने, सुरक्षा जाँच प्रक्रियामा सहयोग गर्नुपर्ने तथा हिरासतको सुरक्षा, अनुशासन र मर्यादा कायम राख्न कार्यालयले निर्धारण गरेका मापदण्डको पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

इवारा जवेगु लिम्बू

अन्य

भिडियो