मन्थली नगरपालिका-२ की रिता बसेल मन्थली बजारमा भवन निर्माणको काममा ज्याला मजदुरी गर्छिन् । दिनभरि पुरुषसँगै बालुवा र गिट्टी बोक्ने तथा मसला घोल्ने लगायतका काम गर्ने रीताले साँझ भने पुरुषसरह ज्याला पाउँदिनन् ।
“सँगै जोतिएर बराबर काम गर्दा पनि पुरुष र महिलाबीचको ज्याला फरक छ । संगै काम गर्ने पुरुषले एक हजार रुपैयाँ ज्याला पाउँछन् तर हामीले भने ७ सय रुपियाँ पाउँछौँ” उनले भनिन् ।

भवन निर्माणको काममा मात्र हैन सडकको काममा पनि महिला र पुरुषबीच ज्यालामा फरक छ । गोकुलागंगा गाउँपालिकाको शिवालय देउराली सडकमा काम गर्ने महिलाको अवस्था पनि त्यस्तै छ ।
सडकमा पुरुषसँगै काम गरिरहेकी लक्ष्मी कार्कीले पुरुषले एक हजार २ सय ज्याला पाउँदा आफूहरूले भने ८ सय रुपियाँ मात्र ज्याला पाउने गरेको बताइन् । “दिनभरि पुरूष सरह खटिरहेका हुन्छौँ तै पनि ज्याला भने फरक छ । एक पटक समान ज्याला नदिने भए काम गर्दैनौँ भनेर पनि लागियो तर त्यसो भन्दा काम नै पाइएन” उनले भनिन् ।
यी केही प्रतिनिधिमुलक उदाहरण मात्र हुन् । अवस्था जिल्ला भरिकै एकै खालको छ । निजी क्षेत्र तथा कृषि क्षेत्रमा काम गर्ने महिलाहरूले पुरुष सरह काम पाउन सकेका छैनन् । महिला र पुरूषकाबीचमा समान काममा पनि ज्यालामा विभेद रहेको मन्थली नगरपालिकाकी सदस्य कमला बसेल बताउँछिन् । उनले सरकारी सेवा बाहेक हरेक क्षेत्रमा महिला र पुरूषमा ज्यालामा असमानता रहेको बताइन् ।
रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भने सरकारी सेवामा समान काममा समान ज्याला भएको बताए । अन्य क्षेत्रमा त्यस्तो असमानता भएको उजुरी आएमा आवश्यक कारबाही हुने उनले बताए । उनले भने, “अहिलेसम्म त्यस्ता उजुरी आएका छैनन् तर आएको खण्डमा भने हामी हेर्छौँ ।”
नेपालको संविधान २०७२ को मौलिक हकमा नै समानताको अधिकारको ग्यारेण्टी गरिएको छ । नेपालको संविधानको धारा १८ ले सबै नागरिकहरू समान हुने कुरा उल्लेख गरेको छ । त्यस्तै श्रम ऐनले पनि समान काममा समान ज्यालाको ग्यारेण्टी गरेको छ । तर अहिले पनि रामेछाप जिल्लाका महिलाहरूले समान काममा समान ज्याला पाउन सकेका छैनन् ।