सम्सी गाउँपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा एम्बुलेन्स र एक्स-रे मेशिन आएको महिनौं बितिसक्दा पनि सञ्चालनमा नआउँदा सेवाग्राही मार्कामा परेका छन् ।
स्थानीयवासी अरुण यादवले भने,-‘महिनौँदेखि एम्बुलेन्स अस्पताल परिसरमै थन्किएको छ, एक्स-रे मेशिन त गोदाम मै थन्किएको छ, निःशुल्क प्रसुति सेवा त अझै सञ्चालनमा आउन सकेको छैन, यी सेवा सञ्चालन नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।’
जिल्लाको निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधि सभा सांसदमा निर्वाचित डा. सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री बनेपछि त्यस क्षेत्रकै प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा एम्बुलेन्स र एक्स-रे मेशिन प्रदान गरेका थिए भने केन्द्रमा निःशुल्क प्रसुती सेवा प्रदान गर्ने व्यवस्था गरिएको थियो ।
जनशक्तिको अभावमा प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा एम्बुलेन्स, एक्स-रे र प्रसूति सेवासञ्चालनमा आउन नसकेको स्वास्थ्य संयोजक वीरेन्द्र यादवले बताए ।
बिहान ढिलो खुल्ने र दिउँसो चाँडै बन्द हुने प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा सम्बन्धित सरोकारवालाको ध्यान नपुग्दा कर्मचारीको मनोमानी भएको स्थानीयको आरोप छ । अस्पतालमा एमबीबीएस डा. अमित रञ्जन, हेल्थ असिस्टेन्ट शिवकला साह र सञ्जयकुमार यादव, सिएमए मोहन मण्डल र सहदेव यादव, स्टाफ नर्स सिर्जना तामाङ, अनमी रुकमणि यादव र सत्यसिंह कार्यरत रहे पनि उनीहरू नियमित उपस्थित हुँदैनन् ।