बालसुधार गृह भैरहवामा क्षमता भन्दा दोब्बर बढी बालबन्दीहरू राख्दा बालकहरूले विभिन्न खालका समस्या भोग्दै आएका छन् । भैरहवास्थित बालसुधार गृहको क्षमता ४० जनाको भनिए पनि अहिले १ सय १० जना कानुनको विवादमा परेका बालकहरु रहेका छन् । क्षमताभन्दा बढी बस्नुपर्दा बस्न, सुत्न, नुहाउन, शौचालय र स्वास्थ्य तथा सरसफाई सम्बन्धी विविध समस्याहरु भोग्दै आउनु परेको छ ।
बालसुधार गृहमा १ सय १० जना बालकहरूमध्ये ६९ जना कैदी र ४१ जना (बन्दी) थुनुवाहरू रहेका छन् । त्यस्तै विदेशी तीन जना रहेका छन् भने सबैभन्दा बढी बलात्कारका ७३ जना, कर्तव्य ज्यानका १२ जना, बलात्कार प्रयासका एक जना, लागुऔषधका तीन जना, सवारी ज्यानका ६ जना, अप्राकृतिक मैथुनका चार जना, नकवजनी चोरी तीन जना, यौन दुव्र्यवहार दुई जना लगायतका बालकैदी र थुनुवाहरू रहेको कारागार निमित्त प्रमुख बोधराज आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार अहिलेसम्म छालाजन्य समस्या कम भएको भए पनि गर्मी बढ्दै जाँदा छालाको सङ्क्रमण, दाद, लुतो, नशा जस्ता समस्याहरूले दुःख दिएको र गर्मीको समयमा बस्न, सुत्नलाई पालो कुरेर सुत्नुपर्ने बाध्यता रहेको बताउनु भयो । बालसुधार गृहमा क्षमताभन्दा बढी बालकहरू राख्नुपर्दा, हिँडडुल गर्न नपाएपछि नशाको समस्या आएको, चिसोमा घाम देख्न नपाउँदा गर्मीमा एउटै रुपमा धेरै कोचिएर बस्नुपर्दा छालासम्बन्धी सरुवा रोगको प्रकोप जस्ता समस्या हुने गरेको आचार्यले बताउनु भयो ।
बालसुधार गृह मापदण्ड अनुसार सञ्चालन हुन नसकेको र सात जनाको दरबन्दी रहेको बालसुधार गृहमा अहिले एक निमित्त प्रमुख एक एकाउण्टेन्ट र एक जना कार्यालय सहयोगी कर्मचारी कार्यरत रहेका छन् । बालसुधार गृहमा रहेका बालकहरूले राज्यबाट पाउनु पर्ने शिक्षाको अधिकार, कानुन व्यवसायी राख्न पाउने अधिकार, स्वास्थ्यको अधिकार, मनोरञ्जनको अधिकार, पोषणयुक्त खाना खान पाउने अधिकार, स्वच्छ वातावरणको अधिकार, न्यायाधीश समक्ष बयान दिन सक्ने लगायतका अधिकारबाट वञ्चित रहेका छन् ।
१ सय जना बालकहरू रहेको बालसुधार गृहमा अहिलेसम्म एक जना पनि शिक्षकको व्यवस्थापन हुन नसक्दा बालकहरू शिक्षाबाट वञ्चित भएका छन् भने स्वास्थ्यकर्मी पनि छैनन् । जसले गर्दा सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने अवस्था बालकहरूको रहेको छ । केही समय अगाडिसम्म रुपन्देहीका विभिन्न पालिकाहरूले आलोपालो मासिक रूपमा खाजाको व्यवस्थापन गरेको भए पनि गत माघ २० गतेबाट खाजाको व्यवस्थापन नभएको बालसुधार गृहका निमित्त प्रमुख आचार्यले बताउनु भयो । बालसुधार गृहमा अहिले रुपन्देही, कपिलवस्तु लगायत लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरू र गण्डकी प्रदेशका बालकहरू समेत रहेका छन् । २०७५ भदौ १ गतेबाट सुरु भएको बालसुधार गृहमा हालसम्म ५ सय ३४ जनाले सेवा लिइसकेको बालसुधार गृह रुपन्देहीको तथ्याङ्क रहेको छ ।
हाल बालसुधार गृहमा १५ वर्षदेखि २२ वर्ष उमेर समूहका कानुनको विवादमा परेका बालकहरू रहेका छन् ।