मानेभञ्याङ्ग गाउँपालिका-१ मोलीकी २७ वर्षीया निर्मला राईलाई कुटपिट गरेको आरोपमा २९ वर्षीय पति भवीमानसिं रूम्दालीलाई प्रहरीले फागुन २८ गते गिरफ्तार गरेको छ ।
पत्नीलाई निर्घात कुटपिट गरेर बेहोस बनाएको आरोपमा स्थानीयले आरोपितविरुद्ध फागुन २६ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजीव श्रेष्ठले बताए । सामान्य विवादमा आरोपितले अचेत हुने गरी कुटपिट गरेपछि पीडितलाई स्थानीयले उद्दार गरी फागुन २६ गते सामुदायिक अस्पताल ओखलढुङ्गा पुर्याएका थिए । घटनामा घाइते भएकी पीडितको उपचार भइरहेको इन्स्पेक्टर श्रेष्ठले बताए ।
यसैगरी, नाबालिका छोरी बलात्कार गर्ने बाबुलाई ओखलढुंगा जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश कैलाश केसीको इजलाशले फागुन २८ गते ३६ वर्षीय एक पुरुषलाई जबरजस्तीकरणी तथा हाडनाता करणी मुद्दामा उक्त सजाय निर्धारण गरेको ओखलढुंगा जिल्ला अदालतका श्रेस्तेदार नेत्रबन्धु पौड्यालले बताए ।
पौड्यालका अनुसार हाडनाता करणीतर्फ जन्मकैद अर्थात् २५ वर्ष र जबरजस्ती करणीतर्फ जन्मकैदको आधा सजाय १२ वर्ष ६ महिना गरि दुई कसुरमा ३७ वर्ष ६ महिना सजाय तोकिएको हो । मुलुकी अपराध संहिता कार्यन्वयनमा आएपछि कसुर निर्धारण गरेपछि सजाय निर्धारण गरेर यति धेरै वर्ष कैद फैसला भएको पहिलो मुद्दा भएको श्रेस्तेदार पौड्यालले जानकारी दिए । उक्त मुद्दामा फागुन ९ गते कसुर निर्धारण भई पेशी तोकिएको थियो ।
पीडक ०७५ असोज १३ गते १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा गिरफ्तार भएका थिए । उनी विरुद्ध कात्तिक ८ गते ओखलढुंगा जिल्ला अदालतमा जवरजस्तीकरणी तथा हाडनाताकरणी मुद्दा दर्ता भएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७५ असोज १२ गते गरिएको थियो ।